सार्वजनिक चासोले रूपान्तरित हुँदै विद्यालय

महोत्तरी– लगनपूर्वक काममा लाग्दा असम्भव केही रहेनछ भन्ने उदाहरण बर्दिबास–९ का दुई सामुदायिक विद्यालयले देखाएका छन्। आम रूपमा सामुदायिक विद्यालयको साख गिर्दै गइरहेका बेला ‘विद्यालय रूपान्तरण अभियान’ले यहाँका दुई विद्यालयले स्वरूप मात्र फेरेका छैनन्, पठनपाठन र सार्वजनिक चासो पनि बढेको छ। यहाँका राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्ला र जनमुखी आधारभूत विद्यालयले अहिले ‘विद्यालय रूपान्तरण अभियान’बाट सर्वसाधारणमा सकारात्मक चासो बढाएका छन्। दुवै विद्यालयबीच करिब दुई किलोमिटरको दुरी छ। रेखदेख र वास्ता नपाएर खण्डहरजस्तै बनेको राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्ला अब सबैको आकर्षणमा परेको छ। शैक्षिक सुधार अभियानमा जुटेका युवाको आह्वानमा समाजका सबै तप्काको सहयोग बढेपछि यो विद्यालयमा अहिले भौतिक सुधारसँगै पठनपाठन व्यवस्थित भएको स्थानीय अभिभावक बताउँछन्। विद्यालयमा युवाले बालउद्यान र खेलमैदान निर्माणसँगै वरपरको सरसफाइ र पठनपाठनबारे चासो बढाएपछि सहयोगी हात थपिँदै गएका अभियानमा जुटेका स्थानीय युवा अमृतकुमार महतो बताउँछन्। “अस्तव्यस्त विद्यालयमा हामीले हात हाल्यौँ, त्यसलगत्तै बर्दिबास सहयोगी क्लबले काम थाल्यो, एकपछि अर्को सहयोगी थपिँदै गए,” अमृत भन्छन्, “मैदानमा माटो भरिदिने, पर्खाल र बालउद्यानका लागि आवश्यक इँटा, सिमेन्ट लिएरै दाताहरू विद्यालय आउन लाग्नुभयो, अनि स्थानीय समुदाय पनि तात्यो र विद्यालयले रूप फेर्‍यो ।  युवाको यो प्रयत्नमा बर्दिबास नगरपालिकाले साथ थप्दै भवन निर्माण गरिदिएपछि अब कक्षाकोठा पर्याप्त भए।” “यहाँ छोराछोरी पढ्न पठाउनु भनेको सन्तोष गर्नु मात्र थियो, पढाइ हुँदैनथ्यो,” सो बस्तीका अभिभावक भोला महतो …

महोत्तरी– लगनपूर्वक काममा लाग्दा असम्भव केही रहेनछ भन्ने उदाहरण बर्दिबास–९ का दुई सामुदायिक विद्यालयले देखाएका छन्। आम रूपमा सामुदायिक विद्यालयको साख गिर्दै गइरहेका बेला ‘विद्यालय रूपान्तरण अभियान’ले यहाँका दुई विद्यालयले स्वरूप मात्र फेरेका छैनन्, पठनपाठन र सार्वजनिक चासो पनि बढेको छ। यहाँका राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्ला र जनमुखी आधारभूत विद्यालयले अहिले ‘विद्यालय रूपान्तरण अभियान’बाट सर्वसाधारणमा सकारात्मक चासो बढाएका छन्। दुवै विद्यालयबीच करिब दुई किलोमिटरको दुरी छ।

रेखदेख र वास्ता नपाएर खण्डहरजस्तै बनेको राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्ला अब सबैको आकर्षणमा परेको छ। शैक्षिक सुधार अभियानमा जुटेका युवाको आह्वानमा समाजका सबै तप्काको सहयोग बढेपछि यो विद्यालयमा अहिले भौतिक सुधारसँगै पठनपाठन व्यवस्थित भएको स्थानीय अभिभावक बताउँछन्।

विद्यालयमा युवाले बालउद्यान र खेलमैदान निर्माणसँगै वरपरको सरसफाइ र पठनपाठनबारे चासो बढाएपछि सहयोगी हात थपिँदै गएका अभियानमा जुटेका स्थानीय युवा अमृतकुमार महतो बताउँछन्।

“अस्तव्यस्त विद्यालयमा हामीले हात हाल्यौँ, त्यसलगत्तै बर्दिबास सहयोगी क्लबले काम थाल्यो, एकपछि अर्को सहयोगी थपिँदै गए,” अमृत भन्छन्, “मैदानमा माटो भरिदिने, पर्खाल र बालउद्यानका लागि आवश्यक इँटा, सिमेन्ट लिएरै दाताहरू विद्यालय आउन लाग्नुभयो, अनि स्थानीय समुदाय पनि तात्यो र विद्यालयले रूप फेर्‍यो ।  युवाको यो प्रयत्नमा बर्दिबास नगरपालिकाले साथ थप्दै भवन निर्माण गरिदिएपछि अब कक्षाकोठा पर्याप्त भए।”

“यहाँ छोराछोरी पढ्न पठाउनु भनेको सन्तोष गर्नु मात्र थियो, पढाइ हुँदैनथ्यो,” सो बस्तीका अभिभावक भोला महतो भन्छन्, “जब सहयोगी युवा क्लबका अभियानी काममा जुटे, विद्यालयको भौतिक सुधार र पठनपाठन सुध्रँदै गयो।” यसअघि बाहिर छोराछोरी पठाउने अभिभावकले पनि आफ्ना नानीहरू यसै विद्यालयमा भर्ना गर्न थालेका छन्। पछिल्ला दिनमा अभिभावक, शिक्षक र स्थानीय तहको सघन चासोले विद्यालयको भौतिक स्वरूप मात्र फेरिएको हैन, पठनपाठन पनि व्यवस्थित भएको उनको भनाइ छ।

नगरपालिका क्षेत्र भनिए पनि ग्रामीण परिवेशको यो विद्यालयमा अहिले नियमित पठनपाठनमा आउने छात्रछात्राको संख्या ६३० पुगेको छ । कक्षा–११ र १२ मा शिक्षा र व्यवस्थापन संकाय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को सम्बन्धनमा कम्प्युटर इन्जिनियरिङको प्रि–डिप्लोमा (१८ महिने) पठनपाठन भइरहेको प्रधानाध्यापक भोजराज साहले बताए।

“कुल विद्यार्थीमा छात्रा आधाभन्दा बढी छन्, प्राविधिक धारको कम्प्युटर इन्जिनियरिङको प्रि–डिप्लोमा तर्फ पनि छात्रा नै बढी छन्,” प्रधानाध्यापक साह भन्छन्, “विद्यालयको पठनपाठनबारे समुदायको चासोले सकारात्मक परिणाम देखाउँदो छ।” 

कोइरी, मगर, हजामजस्ता जनजाति बाहुल्यताको पशुपतिनगरमा चमार जातिका दलित केही छन्। यी जाति समुदायमा अहिले छोरी शिक्षाप्रति जागरण बढेको प्रधानाध्यापक साहको ठम्याइ छ।

विद्यालय रूपान्तरण अभियानमा जुटेका उत्साही युवा यो विद्यालयको सकारात्मक परिणामले हौसिएर सो बस्तीकै अर्को विद्यालयमा काम गर्न थालेका छन्। अहिले सो बस्तीको सिरानस्थित जनमुखी आधारभूत विद्यालयमा रूपान्तरण अभियान थालिएको छ। 

नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका सचिव राजकरण महतोले संयोजन गरेको यो अभियानकै क्रममा विद्यालय रङरोगन, फर्निचर व्यवस्थापन, विद्यालय परिसर सरसफाइजस्ता कामले निरन्तरता पाएका स्थानीय अभिभावक बिल्टु महतो बताउँछन्।

“बुझाइते नई छल जे ई स्कुल अई” (लाग्दैनथ्यो यो विद्यालय हो) महतो भन्छन्, “अई बीचमे जब काज शुरू भेल तब बुझाइय जे यो हो स्कुल आब बैन जायत” (पछि जब यहाँ काम थालियो, बल्ल अब यो विद्यालय बन्छ जस्तो लाग्दै छ) । यसअघि कसैले वास्ता नगरेको विद्यालय अभियानीले काम थालेपछि पवित्र मन्दिर बनेको बिल्टु बताउँछन्।

विसं. २०५३ सालमा सरकारी स्वीकृति प्राप्त गरेको यो विद्यालय नानीहरू पढ्ने नभई केहीको शिक्षकका नाउँमा जागिर खाने थलो मात्र रहेको स्थानीयको कडा टिप्पणी हुने गर्थ्यो। तर, विद्यालयमा रूपान्तरण अभियान थालिएपछि तिनै शिक्षक दिनरात नभनी पठनपाठन र भौतिक सुधारका काममा जुटेका अभिभावक बताउँछन्।

करिब तीन महिनाअघि शुरू भएको रूपान्तरण अभियानअन्तर्गत विद्यालयमा बालउद्यान निर्माण भएको छ। परिसरभित्रका समीका रूखमुनि आकर्षक चौतारा निर्माण भएको छ। सहयोगी हात बढ्दै छन्। बर्दिबास–३ कालापानीका बासिन्दा रामकुमार कार्कीले ३५ हजार मूल्य बराबरका विभिन्न जातका फूल र धूपीसहितका बिरुवा विद्यालयलाई सहयोग गरेका छन्। प्राप्त बिरुवा सहयोगी कार्कीकै रोहबरमा रोपिएका विद्यालयका प्रधानाध्यापक धर्मेन्द्र महतोले बताए।

“विद्यालय त करिब ३० वर्षदेखि थियो, तर विद्यालय भएको अनुभूति हुन सकेको थिएन, अब यहाँ पनि पठनपाठन व्यवस्थित हुन्छ भन्ने आस जाग्यो,” विद्यालय नजिकैकी बासिन्दा शीलवती महतो भन्छिन्, “गर्दा त हुने रहेछ।” 

विद्यालयमा शुरू भएको रूपान्तरण अभियानमा अहिले शिक्षक, अभिभावक, विभिन्न सामाजिक संघसंस्था र मनकारी व्यक्ति व्यक्तित्वबाट सहयोग प्राप्त भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामएकवाल महतोको भनाइ छ। अभियान थालिएको पछिल्लो तीन महिना अवधिबीच विद्यालय भवन रङरोगन, चौतारा र वाटिका निर्माण, बिरुवा रोपन र नियमित सरसफाइकै लागि करिब सात लाख रुपैयाँ बराबरको सहयोग जुटेको अध्यक्ष महतोको भनाइ छ।

अभियान थालिएसँगै विद्यालयको अवलोकनमा विभिन्न संघसंस्थाका प्रतिनिधि धमाधम पुग्दै छन्। नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखाले विद्यालयमा ससाना नानीको खाजा पकाउने र खाने भाँडा, बालबालिकाका लागि शैक्षिक र खेल सामग्री दिएको प्रधानाध्यापक धर्मेन्द्र महतो जानकारी दिए। हृदय रोग निवारण फाउन्डेसन महोत्तरीले विद्यालयका छात्रछात्रा, शिक्षक र अभिभावकको स्वास्थ्य जाँच सेवा दिएको उनको भनाइ छ।

एउटै बस्तीको सिरान र पुछारमा अवस्थित दुई विद्यालय सामुदायिक चासो पाएपछि फेरिएका छन्। संकल्प गरेर लागे सामुदायिक विद्यालय फेरिन सक्छन् र गुणस्तरीय पठनपाठन व्यवस्थापन हुनसक्छ भन्ने सन्देश दिएको बर्दिबास नगर पालिकाको नगर शिक्षा समितिका सदस्य खड्गबहादुर सिंह बताउँछन्।