२६४ स्थानमा बस बिसौनी बनाउँदै काठमाडौँ महानगर

कुन रुटको बस कहाँ आइपुग्यो र यात्रुले कति समय पर्खनुपर्छ बन्नेबारे समेत जानकारी लिन सकिने व्यवस्थासहित निर्माण गर्न लागिएको बस बिसौनीमा एक पटकमा तीन वटासम्म बस रोक्न मिल्ने काठमाडौँ महानगरको भनाइ छ।

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले सडक सुरक्षा कायम राख्नका लागि २६४ स्थानमा बस बिसौनी निर्माण गर्ने भएको छ। यसका लागि काठमाडौँ महानगरले चालु आर्थिक वर्षमा १३ करोड बजेट विनियोजन गरेको छ।

काठमाडौँ महानगरले यस वर्ष प्रत्येक चोकबाट पाँच सय मिटर अगाडि वा कम्तीमा दुई सय मिटर पछाडि यस्तो किसिमको बस बिसौनी निर्माण गर्न लागेको कामपाको ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए।  

अहिले सञ्चालन भइरहेको केही र अन्य केही स्थानमा थप गरी बस बिसौनी विस्तार गर्न खोजिएको सल्लाहकार श्रेष्ठले बताए। “चोकमा नै बस बिसौनी निर्माण गर्दा थप दुर्घटना बढेको भन्दै चोकको पाँच सय मिटर अगाडि वा दुई सय मिटर पछाडि निर्माण गर्न लागिएको हो, जुन आधुनिक हुन्छ, जहाँ निःशुल्क रूपमा इन्टरनेटको प्रयोग गर्न पाइन्छ,” उनले भने।

जहाँ कुन रुटको बस कहाँ आइपुग्यो र अब यात्रुले कति समय पर्खनुपर्छ बन्नेबारे समेत जानकारी लिन सकिने व्यवस्था गर्न लागिएको छ। यसरी निर्माण गरिने बस बिसौनी एक पटकमा तीन वटासम्म बस रोक्न मिल्ने बनाउने तयारी रहेको छ। बस बिसौनी निर्माणका लागि बोलपत्र आह्वान गर्ने अन्तिम तयारी भइरहेको र त्यसपश्चात् काम शुरू हुने काठमाडौँ महानगरको भनाइ छ।   

त्यसैगरी, बसको रुट मिलाउने, सडक बत्ती विस्तार गर्दै जाने, एकतर्फी सडकहरूको व्यवस्थापन गर्ने, मोटरसाइकल ग्यारेज सञ्चालनका लागि मापदण्ड बनाउने, सडकमा कोन र डिभाइडरको व्यवस्थापन गर्ने, पेट्रोल पम्प व्यवस्थापन गर्ने, सडक संकेत र चिह्न व्यवस्थापन गर्नेलगायत काम गर्ने तयारीसमेत भइरहेको बताइएको छ।

यससँगै दैनिक उपभोग्य वस्तुको ढुवानी, मालवाहक सवारी, विद्यालयका बसहरूको समय निर्धारण गर्ने, पार्किङ व्यवस्थापन गर्ने, विद्यालयमा यातायात प्रणालीसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने पनि काठमाडौँ महानगरको तयारी छ।  

सल्लाहकार श्रेष्ठले सडकमा संकेत चिह्नहरू मिलाउन तत्काल काम थाल्नुपर्ने बताए। “यस्ता चिह्नहरू आधिकारिक निकायले मात्र राख्नुपर्ने, अध्ययन गरेर मात्र राख्नुपर्ने भएकाले काठमाडौँ महानगरले अध्ययनको काम भइरहेको छ,” उनले भने।

सडक चिह्नहरू देखिने र स्पष्ट हुनुपर्छ। बुझ्न सजिलो हुनुपर्छ। प्रोत्साहन दिने खालका हुनुपर्छ। चालु आवमा काठमाडौँ महानगरको अधिकार क्षेत्रमा पर्ने यातायात क्षेत्रको सुधारका लागि ४४ करोड छुट्ट्याइएको छ।