यःमरी पुन्हि नेवार समुदायले ठूलो चाडका रूपमा मनाउने गर्छन्। यस पर्वमा नयाँ धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर मिठो यःमरी बनाउने गरिन्छ।
भक्तपुर– मंसिर शुक्ल पूर्णिमाका दिन (मंगलबार) नयाँ धान भित्र्याएको खुशीयालीमा नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाउँदैछन्।
नेपाल भाषामा ‘यः’ को अर्थ मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हुन्छ। धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने प्रचलन छ। नेवार समुदायले ठूलो चाडका रूपमा मनाउने गर्छन्। यस पर्वमा नयाँ धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर मिठो यःमरी बनाउने गरिन्छ।
बिहान स्नानपछि घरमा लिपपोत गरी यःमरी पकाउने प्रचलन छ। यो पर्वलाई नेवार समुदायले नव अन्नप्राशनका रूपमा समेत मनाउने गरेको संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग बताउँछन्।
यस दिन धान, गणेश, कूलदेवता, गैडुदेवता, गोठदेवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पिठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ।
यःमरी पर्व विशेषगरी धानसँग सम्बन्धित रहेको संस्कृतकर्मी रामेश्वर बज्राचार्यले बताए। यःमरी पुन्हि शुरू हुनुअघि घर–घरमा भित्र्याइएको धानलाई पाँच–छ दिन छोपेर राखी, घाममा सुकाएर पूजा गरेपछि मात्र भकारीमा राखिन्छ। नयाँ धान वर्षभरिका लागि पुगोस् भनेर नेवार समुदायमा धानलाई पूजा गर्ने प्रचलन छ।
धान राखिएको भकारी, ढुकुटी, घ्याम्पोलगायतका भाँडामा नयाँ चामलको पिठोबाट यःमरी बनाएर पाथीभरि यःमरी राखेर धानलाई अन्नपूर्ण देवताका रूपमा पूजा गर्ने परम्परासमेत छ।
चामलको पिठो मुछेर रोटीको माथिल्लो भाग गजुरजस्तै चुच्चो बनाई तल्लो भागको गर्भमा चाकु, तिल, मास, गुदपाक, खुवा राखी त्रिकोण आकारमा बनाई पानीको बाफमा पकाउने गरिन्छ।
परम्पराअनुसार यःमरी पकाएको चार दिन, छ दिन र १२ दिनसम्म धानको भकारीमा यःमरी पूजा गर्ने र छोरीचेली तथा आफन्तलाई बोलाएर भोज खुवाउने प्रचलन छ। यःमरीलाई कुवेर र गणेशका प्रतीकका रूपमा समेत लिइने बज्राचार्यको भनाइ छ।
यःमरीको मायोँ (केटी) र वायोँ (केटा) बनाएर धानलाई पूजा गरिन्छ। मायोँ र वायोँको पूजाले महिला र पुरुषबीचको समानतालाई देखाउने संस्कृति पहिलादेखि नै रहँदै आएको उनले बताए।
तिहारमा देउसीभैलो खेलेझैँ धान्यपूर्णिमाका दिन साँझ टोलटोलका घरघरमा गएर युवायुवतीले गीत गाउँदै यःमरी तथा धान, चामल, दामलगायत माग्ने ‘त्यःछिं त्यः बकछिं त्यः’ खेल्ने मल्लकालीन प्रचलन लोपोन्मुख अवस्थामा पुगेको छ।
नेवार समुदायमा दान गरेर चाडपर्व मनाउने परम्परा अझै छ। आफ्नासँग नभए अरुसँग मागेर भए पनि खानुपर्छ भन्ने मान्यताअनुसार नै यःमरी टोलका सबैले बाँडेर खानुपर्छ भन्ने मान्यता रहेको संस्कृतकर्मी बज्राचार्यले बताए। “मल्लकालीन अन्तिम अवस्थामा नेपाल भाषा उच्च स्थानमा रहेकाले यःमरी माग्ने गीत त्यही समयदेखि प्रचलनमा आएको हुनसक्छ,” उनले भने, “यःमरी माग्ने गीतमा नेवार समुदायमा हुने एकतर्फी प्रेमको झल्कोसमेत पाइन्छ। यो प्रचलनलाई अहिलेका पुस्ताले छाड्दै गएका छन्।”
धार्मिक विश्वासअनुसार यस दिनदेखि दिन लामो र रात छोटो हुँदै जाने भएकाले यो पर्वलाई समय सूचकका रूपमा लिने गरिन्छ। धान्यपूर्णिमा अर्थात् यःमरी पुन्हिका अवसरमा दान गरे फलिफाप हुने विश्वासअनुसार दान दिने प्रचलन पनि छ।
किंवदन्तीअनुसार पाञ्चाल देश (हालको पनौती)मा सुचन्द्र नाम गरेका दानी र धर्मात्मा महर्जन बस्थे। उनका दम्पती भगवान् विष्णुका परमभक्त थिए। उनीहरूको दयालु स्वभावको जाँच गर्न एक दिन धनपति कुबेर गरिब ब्राह्मणको भेषमा भिक्षा माग्न सुचन्द्रका घरमा पुगेका थिए। सुचन्द्रका श्रीमतीले ब्राह्मणरुपी कुबेरलाई श्रद्धापूर्वक आफूले तयार पारी राखेको यःमरी खुवाएका थिए।
उक्त सत्कारदेखि प्रशन्न भई कुबेरले आफ्नो असली रूप देखाई यःमरीको गुण र धानको भकारीमा श्रीगणेश, कुबेर, लक्ष्मीको पूजा गरी यःमरी चढाउने विधि बताएर गएको किंवदन्ती छ।
सोहीअनुरूप सुचन्द्र दम्पतीले यःमरी धानको भकारीमा चढाएर चार दिनपछि प्रसादका रूपमा बाँडेर खाएकाले उनीहरूको धनसम्पत्ति वृद्धि भयो र यःमरी खाएका कारण शरीरसमेत हृष्टपुष्ट हुन थाल्यो। त्यही बेलादेखि नेवार समुदायमा यःमरी पूर्णिमा मनाउने संस्कृति विकास भएको मानिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
