राष्ट्रपति पौडेलले लोकतन्त्रपछि गाउँ–गाउँमा विकास पुगे पनि त्यसको उपभोग गर्ने मानिस गाउँमा नभएकोप्रति चिन्ता केन्द्रित गर्नुपर्ने बताएका छन्।
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले गाउँहरू किन रित्तिँदै छन् भन्ने कुराको कारण खोजेर समाधान निकाल्नुपर्ने बताएका छन्।
मंगलबार सरस्वती बहुमुखी क्याम्पसको ६५औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले लोकतन्त्रपछि गाउँ–गाउँमा विकास पुगे पनि त्यसको उपभोग गर्ने मानिस गाउँमा नभएकोप्रति चिन्ता केन्द्रित गर्नुपर्ने बताएका हुन्।
“लोकतन्त्रपछि मुलुकको शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युतीकरणको क्षेत्रमा भएको विकासका बाबजुद त्यसको उपभोग गर्ने मानिसको अभावमा आज गाउँ किन रित्तिँदै छ? नीति निर्माण र शासन सत्तामा बस्नेलगायत सबैको चिन्ता आज यसैमा केन्द्रित हुनुपर्छ,” उनले भने, “यतिबेला म यस क्याम्पसको वार्षिकोत्सवमा उभिएर के भन्न चाहन्छु भने शिक्षा र रोजगारीका लागि दैनिक रूपमा हजारौँ नेपाली युवाहरू ताँती लागेर बिदेसिने क्रम रोक्ने गरी रोजगारी र सीपमूलक शिक्षा दिन जरुरी छ।”
कुनै पनि देशको शिक्षा त्यस देशको सामाजिक, आर्थिक अवस्था र देशको आवश्यकता अनुरूप निर्धारण हुनुपर्नेमा उनको जोड थियो। बदलिँदो परिस्थितिमा देश विकासमा टेवा पुर्याउने र विश्व बजारमा पनि प्रतिस्पर्धी हुनसक्ने शिक्षा नीति र कार्यक्रम आजको आवश्यकता रहेको उनको भनाइ छ।
राष्ट्रपति पौडेलले आफू स्वयंले अध्ययन गर्ने अवसर पाएको देशकै पुरानो शिक्षण संस्था सरस्वती बहुमुखी क्याम्पसको ६५ औँ वार्षिकोत्सवमा उपस्थित हुन पाएको भन्दै खुशी व्यक्त गरे।
“मेरा जीवनको ऊर्जावान् समय र मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा मेरो सहभागिता पनि यस क्याम्पससँग जोडिएको सन्दर्भमा म आज यहाँ उपस्थित भइरहँदा अलिकति भावुक पनि भएको छु। मभित्र रहेको राजनीतिक चेतलाई प्रखर बनाउन यस क्याम्पसको वातावरणले दिएको ऊर्जा र प्रेरणा मेरा लागि सदा स्मरणीय रहनेछ,” उनले भने।
सबै नेपालीका छोराछोरीले शिक्षा प्राप्त गर्न अत्यन्त कठिन भइरहेका ती दिनहरूमा पनि सस्तो र सुलभ ढंगले नेपाली जनताका छोराछोरीहरूलाई उच्च शिक्षा अध्ययन गर्ने अवसर प्रदान गरेको भन्दै प्रसंशा गरेका उनले यो क्याम्पस नेपालको शिक्षा क्षेत्रका लागि प्रेरणाको स्रोत रहेको उल्लेख गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
