मौलिक संस्कृतिको जगेर्ना साझा जिम्मेवारी: प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले राष्ट्रिय ज्यापु दिवसका माध्यमबाट विभिन्न धर्म, संस्कृति, समुदाय र क्षेत्रसँग आवद्ध नागरिकबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

तस्वीरहरू : कृष्पा श्रेष्ठ/उकालो

नेवार समुदायले मनाउने यःमरी पुन्हि र ज्यापु दिवसको र्‍याली वसन्तपुरमा गएर टुंगिएको छ। शुक्ल पूर्णिमाका दिन मंगलबार नयाँ धान भित्र्याएको खुशियालीमा नेवार समुदायले वसन्तपुरमा यःमरी पुन्हि मनाएका हुन्।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थिति रहेको थिए। कार्यक्रममा प्रधानमन्त्री दाहालले परम्परागत मौलिक संस्कृतिको जगेर्ना गर्नु सम्पूर्ण नेपालीहरूको साझा जिम्मेवारी भएको बताए।

नेपाल विभिन्न जातजाति, भाषाभाषी, धर्म र सांस्कृतिक समूहहरूको साझा देश हो भन्दै प्रधानमन्त्री दाहालले भौगोलिक रूपमा सानो भए तापनि नेपालको जैविक विविधता, मनोरम प्राकृतिक सम्पदाहरू र सामाजिक बनोट विश्वमै नमूना रहिआएको उल्लेख गरे।

“विभिन्न जातजाति, भाषाभाषी र सांस्कृतिक समूहहरूको परम्परागत मौलिक सांस्कृतिक पहिचान नै नेपालीको पहिचान र गौरव हो। यो सांस्कृतिक परम्परालाई जगेर्ना गर्नु हामी सबैको साझा जिम्मेवारी हो,” उनले भने।

प्रधानमन्त्री दाहालले राष्ट्रिय ज्यापु दिवसका माध्यमबाट काठमाडौँ उपत्यकाभित्रका र बाहिर रहेका ज्यापुहरूबीच मात्र नभई विभिन्न धर्म, संस्कृति, समुदाय र क्षेत्रसँग आवद्ध नागरिकबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

मंगलबार २०औँ राष्ट्रिय ज्यापु दिवसका अवसरमा काठमाडौँमा औपचारिक कार्यक्रम आयोजना गरिइएको हो। कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंह, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, पूर्वप्रमुख विद्यासुन्दर शाक्य लगायतको उपस्थिति रहेको थियो।