टी२० विश्वकपको तयारीमा कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता

नेपाली टोलीले सुविधासम्पन्न मैदानबिना नै विश्वकपको यात्रा तय गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले विश्वकप खेल्ने टोलीको तयारीमा कमी हुन नदिने प्रतिबद्धता जनाएका छन्।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आईसीसी टी२० विश्वकप खेल्ने नेपाली टोलीको तयारीमा कुनै किसिमको कम हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

राष्ट्रका नाममा मंगलबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। आईसीसी टी२० विश्वकप जुन ४ देखि ३० सम्म वेस्ट इन्डिज र अमेरिकामा हुँदैछ। 

नेपालसहित २० राष्ट्रले यो प्रतियोगिता खेल्दै छन्। काठमाडौँमा गत नोभेम्बर ३ मा भएको टी२० विश्वकप एशिया छनोटको सेमिफाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी यूएईलाई ८ विकेटले पराजित गर्दै नेपालले एक दशकपछि टी२० विश्वकपमा दोस्रो पटक स्थान बनाएको थियो।

नेपाली टोलीले सुविधासम्पन्न मैदानबिना नै विश्वकपको यात्रा तय गरेको उनले बताए। यसरी विश्वकपमा छनोट भएको टोलीको तयारीमा कुनै कसर बाँकी नराख्ने उनले बताएका हुन्।

“यो सफलतासँगै देशमा खेल पर्यटनको ठूलो आधार तय भएको छ। यसका लागि पूर्वाधारमा ध्यान केन्द्रित गरेका छौँ,” उनले भने। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई पीपीपी मोडलमा विस्तार गरिँदै गरेको उनले जानकारी दिए। 

राष्ट्रिय गौरवको आयोजनाका रूपमा मूलपानी, विराटनगर र कैलालीको फाफ्ला क्रिकेट मैदानको निर्माण थालिएको उनको भनाइ थियो। चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई पनि राष्ट्रिय गौरवकै आयोजनाको रूपमा राखेर निर्माण अगाडि बढाइएको उनले बताए।

“सरकारको ध्यान पूर्वाधार निर्माणमै केन्द्रित छ। ग्रास्टरुटबाटै खेलाडी, खेलकुद र खेल पूर्वाधारको विकास गरी खेल पर्यटन ठूलो सम्भावना हासिल गर्न सरकारले कुनै कसर छाड्ने छैन,” उनले भने।