बुद्ध, कबीर, अम्बेडकर र पेरियारलगायतले समेत छुवाछुतलाई नकारे, तर नेपाली र भारतीय समाज यो विभेदबाट अझै मुक्त हुन सकेको छैन। जात व्यवस्था समाजको क्यान्सर हो। मानव समुदायकै कलंक हो।
केही दिनपहिले मुगु र मोरङमा भएको दलित महिलामाथिको जातीय विभेदको घटना चर्चामा छ। दाङको तुलसीपुर उपमहानगरपालिका-११ की तुलसाकुमारी विश्वकर्मा प्रदेश लोकसेवाको परीक्षा पास गरेर मुगुको सोरु गाउँपालिका-९, खनैया स्वास्थ्य चौकीमा अनमीका रूपमा कार्यरत थिइन्। करिब एक वर्षदेखि स्वास्थ्य चौकी इन्चार्ज सुरजकुमार शाहीको घरमा डेरा लिएर बसेकी उनले स्वास्थ्य चौकीको सम्पूर्ण भार थामेकी थिइन्। पछिल्लो पटक उनको थर/जात कामी भन्ने थाहा पाएपछि गाउँमा हल्लाखल्ला मच्चियो। शाहीले घरमा 'तल्लो जात'को व्यक्तिलाई डेरा दिएर राखेको थाहा पाएपछि गाउँ र घरपरिवारमा कानेखुसी बढ्दै गयो।
शाहीको परिवारले तुलसालाई कोठा खाली गर्न भनेपछि उनी सकसमा परिन्, कोठा सर्ने प्रयासमा जुटिन, तर कतै कोठा पाउन सकिनन्। गाउँमा कोठा खाली भएर पनि नपाउने स्थिति बनेपछि उनी केही समययता स्वास्थ्य चौकीभित्रै बसेर आफ्नो ड्युटी पूरा गर्न थालिन्। स्वास्थ्य चौकी बस्तीभन्दा केही पर भएका कारण उनलाई हरेक रात साँझ स्थानीय युवाले जिस्क्याएर हद गरिसकेका रहेछन्। सिंगो गाउँ समुदायले स्वास्थ्य सेवामा खटिएकी एउटी युवतीको हुर्मत लिइराखेको रहेछ, जातका कारण उनी सामाजिक बहिष्करणमा परेकी रहिछन्।
त्यस्तै, मोरङ पथरीशनिश्चरे नगरपालिका– १० की रिता विश्वकर्माले आफूमाथि धेरै पहिलेदेखि हुने गरेको सामाजिक उत्पीडनबारे केही पहिले बोलिन्। उनलाई गाउँका तथाकथित ठूला जातका मान्छेले विभिन्न सामाजिक कार्यमा बोलाउने गर्थे, तर त्यहाँ पुग्दा भने तिनले उनीमाथि छुवाछुतको व्यवहार गरिहाल्थे। कतिसम्म भने सोही ठाउँका स्थानीय लक्ष्मण गुरागाईंको छोरीले दलितसँग बिहे गरेकै कारण उनलाई समेत ठूला भनिने जातिले दुःख दिएका छन्। अति भएपछि रिताले यसबारे मिडिया र प्रशासनलाई आफूहरूले झेलेको उत्पीडनबारे बताएकी छन्, तर उनले त्यसो गर्नेबित्तिकै उनको अभियानलाई सहयोग गर्ने केही गैरदलितसहित करिब २५ घर स्थानीय दलितलाई स्थानीय तथाकथित उच्च जातकाले विवाह, मेलापात र अन्य सामाजिक कर्ममा बहिष्कार गरेका छन्।
अवस्था कतिसम्म पेचिलो छ भने स्थानीय लक्ष्मण गुरागाईंले आफ्ना नातिहरूलाई आफ्नो घरमा राखेर पढाएपछि स्थानीयहरूले ‘तिनका घरमा दलित बस्ने भएकाले तिनकोमा गएर श्राद्ध आदि कर्मकाण्ड गर्न मिल्दैन’ भनेर पुरेतहरूलाई समेत धम्क्याए। २०६६ सालयता उनले आफ्नो बाउआमाको श्राद्ध गरिदिने पुरोहितसमेत पाएनन्। आफ्नै समुदायकाले बहिस्कार गरेपछि उनले श्राद्ध गर्न नै छाडिदिए। यसैबीच रिता र लक्ष्मणहरूले यस्तो विभेदविरुद्ध सामाजिक र कानूनी रूपमा उत्रन खोजेको बुझिन्छ।
विभेदको मनोविज्ञान विचित्रको हुन्छ। तह–तहका समुदायबीच विभेद अस्तित्वमा रहेकाले यहाँका मान्छे आफूमाथि विभेद त्यसलाई ठूलो विषय मान्छन्, तर अर्को व्यक्ति वा समुदायमाथि विभेद गर्न पाउनु आफ्नो धार्मिक/सामाजिक अधिकार ठान्छन्। बुद्ध, कबीर, अम्बेडकर, पेरियारलगायत धेरै सन्त/दार्शनिकले अस्पृश्यता (छुवाछुत)विरुद्ध लामो समययता ज्ञान र चेतनाका अभियान चलाए पनि छुवाछुत र विभेदको ताडना नेपाली र भारतीय समाजले अझै भोग्दै छन्। उत्पीडित समुदायले त विभेद भोगेकै छन्, तिनको आर्थिक र राजनीतिक हैसियत पनि अत्यन्तै कमजोर छ। झन्डै पाँच हजार वर्षदेखि दक्षिण एशियामा चल्दै आएको विभेद, अपमान र दानवीकरणको यो अभ्यास कहिले टुंगिने हो, टुंगो छैन।
माथि उल्लेख भएका घटना न पहिलो हुन्, न दलन र विभेदका सन्दर्भमा यी घटना अन्तिम हुनेछन्। यस्तो विषयमा नेपाली बौद्धिक र सचेत वर्गले निरन्तर आफ्ना लेखन र अभियानमार्फत काम गर्दै आएका छन्। राणाशासनमा समेत, स्वयं दलनमा परेको समुदायकै भगत सर्वजित् विश्वकर्माले यसविरुद्ध संगठन नै खोलेर दलनविरुद्ध आवाज उठाउने प्रयत्न गरे। तर, यस्ता सचेत प्रयत्नहरूको असर अझै पनि अपेक्षाकृत परेको देखिँदैन। कतिसम्म भने सात समुद्रपारि गएर पनि नेपालीहरू जातपात सोध्दै त्यही आधारमा विभेद गरिराखेका छन्। कतिपय पश्चिमा मुलुकले समेत जातका आधारमा विभेद हुन थालेकाले त्यससम्बन्धी विभेद नियन्त्रण गर्ने गरी कानून बनाउन थालेका छन्।
मान्छे बरु मर्न तयार छ, तर उच्च जातको भएको भ्रमपूर्ण अहंकार छाड्न तयार छैन। अशिक्षित, अपठित र अज्ञानीले विभेद गर्नु एउटा कुरो, तर विश्वविद्यालय पढ्नेहरूले पनि उल्टै ‘यो श्रमको विभाजन हो, मूल रूपमा जात व्यवस्था सही हो’ भन्दै विभेदका पक्षमा तर्क गर्ने गरेको भेटिन्छ। ‘विभेदलाई विषय बनाएर हाम्रो धर्म/सम्प्रदायमाथि प्रहार भएको छ’ भन्ने तिनको कु/तर्क रहन्छ। जति धेरै शिक्षित (औपचारिक रूपमा), उति नै धेरै विभेदकारी सोच मान्छेहरूमा देखिने गरेको छ भन्दा अत्युक्ति नहोला।
जातीय विभेदको त्रास कति छ भने दलित समुदायका नयाँ पुस्ताका युवा आफ्नो जात/थर ढाँटेर घर गाउँबाहिर शहर र विदेशमा बाँचिरहेका छन्। थर भन्नेबित्तिकै आफूमाथि फरक व्यवहार हुन्छ भन्ने बुझेका उनीहरूले दैनिक रूपमा त्यस्तो सास्तीबाट जोगिन त्यसो गरेका हुन्। जातीय विभेद वा समावेशी विषयका खबरहरू अनलाइन मिडिया/सामाजिक सञ्जालमा शेयर हुँदा त्यस तल गरिने प्रतिक्रियाबाटै विभेद उखेल्न कति कठिन छ भन्ने बुझिन्छ।
सामान्य परिवारमा जन्मेर शिक्षादीक्षा प्राप्त गरी सरकारी सेवामा रहेकी, त्यसमाथि स्वास्थ्य सेवामै जुटेकी तुलसालाई कोठासमेत नदिई विभेद गर्दै जागिर नै छाड्नुपर्ने मानसिक तनावमा पुर्याउनुले यस समाजमा दलनविरुद्धको संघर्ष साँच्चै पेचिलो रहेको बुझिन्छ। यस प्रकरणले दलित समुदायले शैक्षिक, आर्थिक र सामाजिक उन्नति त गर्नै पर्छ, तर त्यति गरेर मात्र नपुग्ने देखिन्छ। राज्यका सबैजसो निकायमा उत्पीडित समुदाय पुगेर निर्मम रूपमा कानून क्रियाशील बनाउनुको विकल्प छैन। अहिलेसम्म पनि दलितमाथि अत्याचार हुनुले राज्यका प्रहरी, प्रशासन र न्यायालयसमेत खास जातिकै दबदबा रहेको प्रस्ट हुन्छ।
भारतीय राज्य बिहारका पूर्वप्रहरी प्रमुख गुप्तेश्वर पाण्डेले केही समय पहिले दिएको एकदमै विवादास्पद बयान यस सन्दर्भमा उल्लेख गर्नु वाञ्छनीय हुन्छ। उनले ‘ब्राह्मण जतिसुकै खराब भए पनि झुक्किएर पनि तिनको आलोचना गर्न नहुने र शास्त्रमै यस्तो व्यवस्था रहेको’ बताएका थिए। कुनै बेला सिंगो बिहारको सुरक्षा हेर्ने व्यक्तिको त्यस्तो सोचले छिमेकी शासक वर्गको सोच पनि प्रतिविम्ब गर्छ। बिहारसँगै जोडिएको नेपालका शासक वर्गमा पनि यस्तै खाले सोच विद्यमान छ, जसका कारण छुवाछुत र विभेदका घटनाका समाचार निरन्तर हामी पढिरहेका छौँ।
जात व्यवस्था नेपाली र भारतीय समाजको क्यान्सर हो। मानव समुदायकै कलंक हो। एक समुदायले अर्कोलाई, अर्कोले अर्कोलाई गर्दै तह–तहमा हुने यस्तो घिनलाग्दो हर्कत संसारमा कहीँ भेटिँदैन। यस्तो घिनलाग्दो व्यवस्था निर्मूल नभएसम्म नेपाली समाज कुनै पनि हिसाबले विकसित र समृद्ध ठहर्दैन। र, यो देशलाई साँच्चै बस्नलायक बनाउने हो भने यस खालको नीच व्यवस्था मेटाउन विभेद गर्ने समुदायसमेत लाग्नुपर्छ, जसरी अमेरिकामा हुने रङभेद हटाउन त्यहाँका गोराहरू सक्रिय रूपमा लागेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
