नेपाल सुपर लिग: काठमाडौँ क्वालिफायरमै रोकियो, फाइनलनजिक ललितपुर

साबिक विजेता काठमाडौँलाई ३–० गोल अन्तरले पराजित गर्दै ललितपुरले एनएसएलको फाइनल प्रवेशका लागि पोखरासँगको भेट पक्का गरेको छ।

काठमाडौँ– ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल)को फाइनल प्रवेशका लागि पोखरा थन्डर्ससँगको भेट पक्का गरेको छ।

त्रिपुरेश्वस्थित दशरथ रंगशालामा मंगलबार सम्पन्न खेलमा साबिक विजेता काठमाडौँ रेजर्सलाई ३-० गोल अन्तरले पराजित गर्दै ललितपुरले पोखरासँगको भेट पक्का गरेको हो।

ललितपुरको जितमा इमोन इजकेलले २ र पापा केबेले १ गोल गरे। जितसँगै ललितपुर दोस्रो क्वालिफायरमा पुगेको हो। ललितपुरले अब फाइनल प्रवेशका लागि बिहीबार पोखराको सामना गर्नेछ।

विजयी टोलीले उपाधिका लागि शनिबार धनगढी एफसीसँग खेल्नेछ। धनगढी पोखरालाई पेनाल्टीमा ४-३ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा प्रवेश गरेको हो।

ललितपुरको तीन गोल
खेलमा पटक पटक आक्रमण बुनेको ललितपुरले गोलका लागि ३६औँ मिनेटसम्म कुर्नु परेको थियो। पापा केबेले प्रहार गरेको बललाई काठमाडौँका गोलरक्षकले बचाउ गरेका थिए। तर, डिफ्लेक्सनलाई इमोन इजकेलले जाली चुमाए। 

त्यसअघि ललितपुरले खेलको ११औँ मिनेटमा ललितपुरका इमोन इजकेलले डीबक्स भित्रबाट दिएको  पासलाई दिनेश हेन्जनले सदुपयोग गर्न सकेनन्। उनको हेडिङ पोस्टको नजिकबाट बाहिरियो।

पहिलो हाफको अन्तिम मिनेटमा ललितपुरले अग्रता दोब्बर बनायो। निखिल कदमले प्रहार गरेको कर्नर किकमा कप्तान अनन्त तामाङले हेडिङ गरेको बल पोस्ट लागेर फर्कियो। त्यही बललाई पापाले गोलमा परिणत गरे।

५२औँ मिनेटमा ललितपुरले अग्रता तेब्बर बनायो। ललितपुरका लागि निखिलले फ्रीकिकमा दिएको क्रसलाई इमोनले हेडिङमार्फत गोल गरे। काठमाडौँका कप्तान अञ्जन राईले सनिस श्रेष्ठलाई डीबक्स बाहिर लडाएपछि ललितपुरले फ्रीकिक प्राप्त गरेको थियो।

७४औँ मिनेटमा काठमाडौँ १० खेलाडीमा सीमित बन्यो। काठमाडौँका कप्तान अञ्जनले दोहोरो पहेँले कार्ड बेहोरेपछि रेफ्रीले रातो कार्ड दिए। ललितपुर यस सिजनको लिगमा चौथो स्थानमा रहँदै प्लेअफमा प्रवेश गरेको हो भने काठमाडौँ तेस्रो स्थानमा रहँदै प्लेअफमा प्रवेश गरेको हो। योसँगै काठमाडौँको उपाधि अभियान समाप्त भएको छ।