अर्थमन्त्री भन्छन्– बजेट दुरुपयोगको बेथिति अन्त्य गर्दै छौँ

अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट दुरुपयोगको बेथिति अन्त्य हुँदै गएको बताएका छन्

चितवन– अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट दुरुपयोगको बेथिति अन्त्य हुँदै गएको बताएका छन्। १७औँ चितवन हात्ती तथा पर्यटन महोत्सवको मंगलबार सौराहामा उद्घाटन गर्दै उनले आवश्यक बजेट मन्त्रालयले माग गर्ने व्यवस्था भइरहेको भन्दै आन्तरिक बजेटमा अनुशासनहीनता घट्ने बताए।

“तीन करोडभन्दा कमको आयोजना केन्द्रले अगाडि बढाउँदैन। एक करोडभन्दा कमको आयोजना प्रदेशले हाल्दैन, एक करोडभन्दा तलको आयोजना स्थानीय सरकारले गर्ने कार्यविधि आइसकेको छ,” उनले भने, “राष्ट्रिय गौरवको आयोजनाबाहेक चार गुणाभन्दा बढी नगर्ने निर्णय भएको छ। अर्को वर्षबाट बहुवर्षे आयोजनामा बजेट नराख्ने र ठेकेदारले दाबी गर्ने परम्पराको अन्त्य हुनेछ। जति बजेट आवश्यक हो, त्यो मन्त्रालयले माग गर्ने व्यवस्था हुँदैछ। यसले आन्तरिक बजेटमा अनुशासन, बेथितिको अन्त्य हुँदैछ।”

अहिलेको मौद्रिक नीतिले कर्जामा लगानी बढाउने, ब्याजदर घटाउने भन्दै उनले उपभोक्ताले उपभोग गर्न गाह्रो मान्न नपर्ने बताए। अहिले आर्थिक सूचकहरू बिस्तारै सकारात्मक भई बढी पर्यटक आगमन पनि बढेको भनाइ उनले राखे।

जलविद्युत्, कृषि व्यापार, पर्यटन र सूचना प्रविधिले मुलुकको अर्थतन्त्रलाई अर्को तहमा पुर्‍याउने भन्दै उनले स्वदेशमै लगानी र प्रतिफलको अवसर खोज्न सकिने बताए। “जलविद्युत्, कृषि व्यापार, पर्यटन र सूचना प्रविधिले नेपालको अर्थतन्त्रलाई अर्को तहमा पुर्‍याउँछ। अवसर यहीँ छ, युवाहरूले सूक्ष्म दृष्टिले यहाँका अवसरहरू खोज्नुपर्छ। यो देशमा धेरै गर्न बाँकी रहेकाले अवसर यहीँ छ,” उनले भने।

मन्त्री महतले चितवनका आदिवासी थारूहरूलाई सम्बोधन गर्दै जिल्लाको संस्कृति, सभ्यता, भाषा र रीतिरिवाज संरक्षण गर्न तथा संसारलाई चिनाउन उनीहरूको ठूलो भूमिका रहेको बताए।