नदी तर्न काठे पुलकै भर, शुल्क तिर्नुपर्ने बाध्यता

काठे पुलको भरमा रहेका लालझाडीवासी बर्खामा ट्युबमार्फत जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। पक्की पुल निर्माण गर्ने चर्चा वर्षौंदेखि चलेको भए पनि बन्ने सुरसार छैन।

तस्वीर: रासस

बेदकोट– कञ्चनपुरको लालझाडी गाउँपालिकाका बासिन्दालाई दोदा नदी तर्न काठको फड्के प्रयोगबापत शुल्क तिर्नुपर्ने बाध्य छ। 

सो नदी वारपार गर्न पक्की पुल नहुँदा स्थानीय काठको अस्थायी पुलबाट शुल्क तिरेर ओहोरदोहोर गर्ने गरेका छन्। शुक्लाफाँटा नगरपालिका–११ देखतभुलीका प्रेमा राना लालझाडी गाउँपालिका–२ स्थित सिद्धबैजनाथ माध्यमिक विद्यालयमा अध्यापन गर्छिन्। 

दैनिक दोदा नदी तर्न काठे पुल प्रयोग गर्ने उनले त्यसबापत शुल्क तिर्नुपर्छ। “वर्षौँदेखि नदी तर्न काठे पुलकै प्रयोग गर्दै आएका छौँ। यो पुल पनि अब जीर्ण बन्दै गएको छ,” उनले भनिन्, “बर्खामा ओहोरदोहोर गर्न झनै समस्या हुन्छ।” 

काठे पुलको भरमा रहेका लालझाडीवासी बर्खामा ट्युबमार्फत जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। पक्की पुल निर्माण गर्ने चर्चा वर्षौंदेखि चलेको भए पनि बन्ने सुरसार छैन। काठे पुल प्रयोग गरेबापत साइकलको १० र मोटरसाइकलको २० रुपैयाँ शुल्क तिर्नुपर्छ। 

नदीमा स्थानीय मंगलबहादुर चौधरीले व्यक्तिगत लगानीमा काठको फड्के निर्माण गरेका हुन्। सालको काठबाट फलेक जोडेर बनाइएको अस्थायी पुल जीर्ण बन्दै गएको स्थानीय कृष्ण रानाले बताए। “पुलका टेको मक्किएका छन्। दुर्घटनाको खतरा छ। हामीले कहिलेसम्म काठे पुल प्रयोग गर्ने?”, उनले भने। 

बर्खामा बाढी आउने हुनाले जिल्लाको दुर्गम क्षेत्रअन्तर्गत पर्ने लालझाडीसँगको सम्पर्कविच्छेद हुने गरेको छ। बर्खामा उर्लिएर आउने दोदा नदीले यहाँका स्थानीयलाई दुःख दिने गरेको छ। 

“वर्षात्‌मा काठको पुलबाट आवतजावत गर्न सकिँदैन। बाढीले बगाउने हुनाले पुल हटाइन्छ,” उनले भने, “त्यसपछि ट्युबको सहायताले जोखिम मोलेर नदी वारपार गर्नुपर्छ।”