खार्मीका किरात समुदायले रुपाकोटगढीमा भेला भएर सामूहिक रूपमा भूमिको पूजा गर्दै, साकेला नाच्दै उँधौली मनाउने गरेका छन्।
खोटाङ– किरात समुदायको दोस्रो ठूलो चाड ‘साकेला उँधौली’को रमझम जारी छ। माझकिरात भनेर चिनिने खोटाङका किरात समुदायले मंसिरे पूर्णिमादेखि १५ दिनसम्म उँधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उँभौली चाड मनाउने गर्छन्।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका किरात समुदाय ऐतिहासिकस्थल रुपाकोटगढीमा भेला भएर प्रकृतिको पूजा आराधना गरी उँधौली चाडको शुरूआत गरेका छन्। साकेला उँभौलीको अवसरमा आपसमा शुभकामना आदानप्रदानसमेत गरिएको दुमकिम खार्मीका उपाध्यक्ष दिलकुमार राईले जानकारी दिए।
रुपाकोटगढीमा किराती पुर्खा खारम्बु राजाले शासन गरेको इतिहास छ। खार्मीका किरात समुदायले रुपाकोटगढीमा भेला भएर सामूहिक रूपमा भूमिको पूजा गर्दै, साकेला नाच्दै उँधौली मनाउने गरेका छन्।
वर्षको दुईपटक मनाइने साकेला चाडको उँधौलीमा अन्नबालीको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ। कुखुराको भाले, चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङको चामललगायत सामग्री प्रयोग गरेर प्रकृतिको पूजा गर्ने प्रचलन रहेको उपाध्यक्ष राईले बताए।
साकेला उँधौलीको अवसर पारेर जिल्लाका ऐतिहासिक तथा पर्यटकीय स्थलहरू तुवाचुङ–जायाजुङ, रुपाकोटगढी, मझुवागढी र मेरुङ, जन्तेढुङ्गा र छोंखा, कपासे भञ्ज्याङलगायत साकेला थानमा साकेला सिली नाच्ने चलन छ। उँधौली र उँभौलीमा किरात राईको प्रत्येक घरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा भूमिको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा सिली टिप्दै गोलो घेरा हालेर साकेला नाच्ने गरिन्छ।
छितको गुन्यु, मखमलको चोली, पहेँलो पटुकी, दौरा सुरुवाल, ढाका टोपीलगायत किराती मौलिक वेशभूषामा सजिएर हरेक किरात राईहरूको घर–घरमा नाच्दै गाउँदै हर्षोल्लासका साथ मनाइन्छ। गैरकिरात समुदायका युवासमेत सहभागी भएर साकेला सिली नाच्ने गरेका छन्। चराचुरुंगी तथा जीवजन्तुको नक्कल गर्दै ढोल/झ्याम्टाको तालमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टि जगत्को रक्षा गरून् भन्ने कामनाका साथ साकेला चाड मनाउने गरिएको छ।
उँधौली तथा उँभौली जातीय सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने एउटा समृद्ध संस्कृतिको रूपमा विकास भएको किरात राई यायोख्खा खोटाङका अध्यक्ष युगशन किरातले बताए। “साकेला चाडमा विशेषगरी प्रकृति र पितृको पूजा गर्दै आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ,” उनले भने, “साकेला चाडले जातीय, धार्मिक तथा सांस्कृतिक सद्भाव, आपसी मेलमिलाप कायम गर्दै द्वन्द्वलाई निरुत्साहित गर्न भूमिका खेल्ने गरेको छ।”
साकेला उँधौली चाड पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङलगायत किरात समुदायको बसोबास रहेको ठाउँमा साकेला नाच नाच्दै मनाउने गरिएको छ। साकेला उँधौली तथा उँभौली किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मनाउँछन्।
अन्नबाली लगाउने समय उँभौली र अन्न भित्र्याउने बेला उँधौली चाड मनाउने चलन छ। चराचुरुंगी बेँसीतिर झर्ने र लेकतिर जाने याममा मनाइने यो चाडमा आफन्तजन, चेलीबेटी भेला हुने र दुःखसुखका कुरा गर्ने चाडका रूपमा पनि लिइन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
