प्रधानमन्त्री कप: एपीएफ र कोशीको जित

एपीएफले दिएको १६१ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ६८ रन मात्रै बनाउन सक्यो।

तस्वीर: क्यान

काठमाडौँ– राजमती ऐरी र ममता चौधरीको अर्धशतकप्रेरित विभागीय टोली एपीएफले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा लागातार पाँचौँ जित हासिल गरेको छ।

बुधबार सम्पन्न खेलमा एपीएफले कर्णली प्रदेशलाई ९२ रनले पराजित गरेको हो। एपीएफले दिएको १६१ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ६८ रन मात्रै बनाउन सक्यो।

कर्णालीकी तिर्सना विश्वकर्माले १९ रन बनाउँदा रश्मी खड्का १० र गौरी बोहरा १२ रनमा आउट भइन्। कर्णालीका अन्य ब्याटरको प्रदर्शन सन्तोषजनक रहेन।

एपीएफकी करुण भण्डारीले सर्वाधिक ४ विकेट लिइन्। सुमन विष्टले २ विकेट लिँदा बिनु बूढा र सीता रानामगरको नाममा १/१ विकेट रह्यो।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको एपीएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १६० रन बनाएको थियो।

एपीएफकी ओपनर राजमती ऐरीले सर्वाधिक ६७ रन बनाइन्। उनले ५५ बलमा ९ चौका र २ छक्का प्रहार गरिन्। अर्की ओपनर ममता चौधरीले ५५ बलमा ८ चौकासहित ६२ रन बनाइन्।

रोमा थापा १४ र मन्जु बोकटी १ रनमा अविजित रहिन्। जितसँगै एपीएफले ५ खेलबाट १० अंक जोड्दै तालिकाको शीर्ष स्थानमा यथावत् छ।

को छ। एपीएफले सुदूरपश्चिमलाई ९ र मधेशलाई १० विकेटले पराजित गरेको थियो।

तेस्रो खेलमा लुम्बिनीलाई ९० रन र चौधो खेलमा कोशीलाई ८ विकेटले पराजित गर्दै अपराजित यात्रा कायम गरेको थियो। 

कर्णाली भने जितविहीन छ। कर्णाली कोशीसँग १० विकेट, गण्डकीसँग ४४, सुदूरपश्चिमसँग ८१ र लुम्बिनीसँग ३० रनले पराजित भएको थियो।

कोशीको चौथो जित
एपीएफसँग ८ विकेटले पराजित भएको कोशीले पुनरागमन गर्दै गण्डकीलाई ५५ रनले पराजित गरेको छ। मूलपानी क्रिकेट मैदानमा भएको खेलमा कोशीले दिएको १०४ रनको लक्ष्य पछ्याएको गण्डकीले १५ ओभरमा सबै विकेट गुमाउँदै ४८ रन बनायो।

गण्डकीकी सुमन विश्वकर्माले २१ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। गण्डकीका पाँच खेलाडीले रनको खातासमेत खोल्न सकेनन्। कोशीकी कप्तान रुविना क्षेत्री बेलबासेले सर्वाधिक ३ विकेट लिइन्। संगिता राई र अलिसा खडियाले २/२ विकेट लिँदा अप्सरी बेगमको नाममा १ विकेट रह्यो।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको कोशीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०३ रन बनाएको थियो। कोशीकी बिमला मलाहाले सर्वाधिक २५ रन बनाइन्। उनले ३७ बलमा २ चौका प्रहार गरिन्।

लखिता राजवंशीले २२ रन बनाउँदा संगिता राई २३ रनमा अविजित रहिन्। अन्य ब्याटरले भने सन्तोषजनक रन बटुल्न सकेनन्। गण्डकीकी कुसुम गोद्दार र सृष्टी जैशीले २/२ विकेट लिइन्। आकृती तिवारी, रचना चौधरी र सुमन खतिवडाको नाममा १/१ विकेट रह्यो।

कोशीले जारी प्रतियोगितामा कर्णालीलाई १० र बागमतीलाई ८ विकेटले पराजित गरेको थियो। तेस्रो खेलमा मधेशलाई ६० रनले पराजित गरेको कोशी चौथो खेलमा एपीएफसँग भने ८ विकेटले पराजित हुँदै अपराजित यात्रा टुंगाएको थियो। कोशी अंक तालिकामा दोस्रो स्थानमा यथावत् छ।

कोशीले ५ खेलबाट ८ अंक बनाएको छ। यता, कर्णालीलाई मात्रै पराजित गर्न सकेको गण्डकीको २ अंक छ।

गण्डकी लुम्बिनी र बागमतीसँग ४/४ विकेट र मधेशसँग २७ रनले पराजित भएको थियो। गण्डकी अंक तालिकाको छैटौँ स्थानमा छ।