८४ पूजाको खर्च कटाएर विद्यालयलाई ४ लाख सहयोग

म्याग्दीको मालिका गाउँपालिका–४ च्युरीबोटका घनमाया पुन र उनका परिवारले ८४ पूजामा हुने खर्च कटाएर गाउँको विद्यालयलाई चार लाख रुपैयाँ सहयोग गरेका छन्। 

म्याग्दी– मालिका गाउँपालिका–४ च्युरीबोटका एक वृद्धा र उनका परिवारले ८४ पूजामा हुने खर्च कटाएर विद्यालयलाई चार लाख सहयोग गरेका छन्। 

च्युरीबोट घर भई हाल बेलायत बसोबास बस्दै आएका घनमाया पुनले चौरासी वर्ष पुगेको अवसरमा मंगलबार सिद्धार्थ माविलाई रकम हस्तान्तरण गरेकी हुन्। घनमायाले आफ्नो नामबाट एक लाख, दिवंगत श्रीमान् टेकबहादुर पुनको नाममा एक लाख र स्व छोरी चित्रा घर्तीको स्मृतिमा ५० हजार नगद हस्तान्तरण गरेको प्रअ ललितबहादुर घर्तीमगरले बताए। 

यस्तै, घनमायाका छोरा टार्जन र दुर्गा एवं छोरी रुपी पुनले थप ५०–५० हजार रुपैयाँ प्रदान गरेका छन्। घनमाया, उनका छोराछोरी र बुहारीले वडाध्यक्ष भेजेन्द्रमान पुन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तमबहादुर पुन, घर्ती, अक्षयकोषका अध्यक्ष भिजेन्द्रमान पुनलाई नगद हस्तान्तरण गरे। 

घनमायाका जेठा छोरा/बुहारी दलमान र माया पुनले गत वर्ष ५० हजार सहयोग गरेका थिए। उनका भान्जा खिमबहादुर बुढाले विद्यालयलाई १० हजार सहयोग गरेका थिए। सो रकम विद्यालयमा सिद्धार्थ अक्षयकोषमा जम्मा गरिने प्रअ घर्तीले बताए। 

८४ वर्ष पूरा भएको अवसरमा घनमायाले विद्यालयलाई सहयोग गरेर फजुल खर्च नियन्त्रण र सामाजिक क्षेत्रमा सकारात्मक सन्देश दिएको वडाध्यक्ष पुनले बताए। सहयोगदाता पुनले विद्यालयका शिक्षक, विद्यार्थी र स्थानीयलाई ८४ वर्ष पुगेको अवसरमा भोजनसमेत गराएका थिए।

विद्यालय, च्युरीबोट ख्याली सोरठी, स्थानीय आमा समूह, क्लबलगायत संघसंस्थाले घनमाया र उनका परिवारलाई सम्मान गरेका थिए। २०५५ सालमा स्थापित अक्षयकोषको रकमबाट विद्यालयमा अध्यापनरत निजी स्रोतका शिक्षकलाई तलब र गरिब तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति वितरणका लागि खर्च गरिँदै आएको शिक्षक छकप्रसाद घर्तिमगरले बताए। कक्षा १० सम्म पढाइ हुने विद्यालयमा १२७ विद्यार्थी छन्।

अक्षयकोषमा देश विदेशमा रहेका च्युरीबोटबासीबाट अहिलेसम्म २४ लाख १४ हजार ६४३ संकलन भएको छ। 

सोही अवसरमा गत वर्षको एसईई परीक्षामा विद्यालयबाट सहभागी भई सो गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट अंक ल्याउने विद्यार्थी बोमबहादुर रोकालाई विद्यालयले नगदसहित पुरस्कृत गरेको छ।