देशीविदेशी प्रतिक्रियावादी शक्तिहरूले षड्यन्त्रका तानाबाना बुनिरहेका छन्ः माधव नेपाल

प्रतिगामी शक्तिहरूले संविधानमाथि आक्रमण गर्ने काम फेरि शुरू गरेकाले राजनीतिक दलहरूले फेरि गम्भीर भएर अघि बढ्नुपर्ने आवश्यकता पनि नेपालले औँल्याए।

काठमाडाैँ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशीविदेशी प्रतिक्रियावादी शक्तिहरूले मुलुकमा षड्यन्त्रका तानाबाना बुनिरहेको बताएका छन्।

बुधबारदेखि ललितपुरमा शुरू भएको पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। अध्यक्ष नेपालले प्रतिगामी शक्तिहरूले संविधानमाथि आक्रमण गर्ने काम फेरि शुरू गरेकाले राजनीतिक दलहरूले फेरि गम्भीर भएर अघि बढ्नुपर्ने आवश्यकता पनि औँल्याए।

उनले मुलुकलाई फेरि संकटबाट जोगाएर अघि बढ्नका लागि समाजवादी मोर्चामा आबद्ध सबै दलहरू एकताबद्ध भएर अघि बढ्न सहमत रहेको दाबीसमेत गरे। उनले एमाले पार्टिभित्र आफूले गरेको विद्रोह जायज भएको पनि बताए।

"हाम्रो पार्टीले एमालेभित्र गरेको विद्रोह जायज थियो। यसले सफलता प्राप्त गर्‍यो। विघटित गरिएको प्रतिनिधिसभा पुनःस्थापित भयो। संविधान जोगियो। संसदले पूर्ण कार्यकाल काम गर्न सक्यो," उनले भने, "आज हामी यो संविधानमाथि आक्रमण भइरहेको सन्दर्भमा फेरि गम्भीर हुनुपर्ने स्थितिमा पुगेका छौँ। अहिले प्रतिगामी शक्तिहरूले टाउको उठाइरहेका छन्। विभिन्न देशीविदेशी प्रतिक्रियावादी शक्तिहरूले देशभित्र षड्यन्त्रका तानाबाना बुनिरहेका छन्।"

समाजवादी मोर्चाको संयोजकको हैसियतले आफूले त्यहाँभित्र पनि मुलुकको जटिल राजनीतिक परिस्थितिको बारेमा छलफल भित्र्याएको र त्यसको समाधानका लागि मोर्चामा आबद्ध सबै दलहरू एक भएर अघि बढ्न सहमत रहेको पनि उनको भनाइ छ।

नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाउन, बनाउन र लोकप्रिय बनाउने काममा कसरी लाग्न सकिन्छ भन्ने बारेमा पनि समाजवादी मोर्चाभित्र छलफल शुरू गरिएको उनले बताए।