१७ अंकले घट्यो नेप्से, ५ अर्ब २४ करोडको कारोबार

बुधबार म्युचुअल फन्ड समूह ०.५३ र निर्जीवन बीमा समूह १.१६ प्रतिशतले बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेको छ।

काठमाडाैँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। बुधबार नेप्से परिसूचक १७.२३ अंकले घटेर २,०७०.८४ को विन्दुमा कायम भएको हो।

बुधबार ३०७ कम्पनीको एक करोड ४३ लाख ३७ हजार ७३८ कित्ता शेयर एक लाख १७ हजार ४७६ पटक खरिदबिक्री हुँदा पाँच अर्ब २४ करोड ८७ लाख ८२ हजार ६११ रुपैयाँ बराबरको कारोबार भएको छ।

म्युचुअल फन्ड समूह ०.५३ र निर्जीवन बीमा समूह १.१६ प्रतिशतले बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै व्यापार समूहको उपसूचकमा २.३२ प्रतिशतको गिरावट देखिएको छ।

चारवटा कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ। नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड, मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड र चिर्खवा हाइड्रोपावर लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो। बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको १९ करोड ६६ लाख ६४ हजार ७९३ रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै, कारोबार भएका शेयर संख्याका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको पाँच लाख सात हजार सात सय ७५ कित्ता शेयर किनबेच भएको छ।