विदेश तथा शान्ति सेनामा जानेले अब ३ दिनमै 'ड्राइभिङ लाइसेन्स' पाउने

अध्ययन तथा रोजगारीका लागि विदेश जाने नागरिक र शान्ति मिसनमा जाने नेपाली सेना एवम् नेपाल प्रहरीले तीन कार्यदिनभित्र लाइसेन्स पाउने विभागले जनाएको छ।

काठमाडौँ– यातायात व्यवस्था विभागले विदेश जानुपर्ने अवस्थामा अब तीन दिनमै सवारी चालक अनुमतिपत्र ‘ड्राइभिङ लाइसेन्स’ दिने भएको छ।

अध्ययन तथा रोजगारीका लागि विदेश जाने नागरिक र शान्ति मिसनमा जाने नेपाली सेना एवम् नेपाल प्रहरीले तीन कार्यदिनभित्र लाइसेन्स पाउने विभागले जनाएको छ।

विभागले बुधबार एक सूचना प्रकाशित गर्दै आउँदो आइतबार (पुस १५)देखि यो सुविधा लागू हुने जनाएको हो। यसको लागि विभागको अनलाइन पोर्टल मार्फत निवेदन दिन आग्रह गरेको छ।

"निवेदन स्वीकृत भएको मितिदेखि तीन कार्य दिनभित्र प्राविधिक समस्या आएन भने स्मार्ट कार्ड छपाइ गरी यस विभागको सहायता कक्षबाट वितरण हुनेछ," उक्त सूचनामा भनिएको छ।

निवेदकले लाइसेन्स लिन आउँदा उक्त पोर्टलमा अपलोड गरेका कागजातहरूको सक्कल प्रति र अनलाइन निवेदनको प्रिन्ट लिएर आउनसमेत विभागले अनुरोध गरेको छ।