अमेरिका पठाइदिने भन्दै २६ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ

उनले मासिक तीन लाख रुपैयाँ तलब हुन्छ भन्दै वैदेशिक रोजगारीको प्रलोभन देखाएका थिए।

काठमाडाैँ– अमेरिका पठाइदिन्छु भन्दै २६ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौँको बुढानीलकण्ठ–३ का भैरवबहादुर ठकुरी रहेका छन्। मासिक तीन लाख रुपैयाँ तलब हुन्छ भन्दै वैदेशिक रोजगारीको प्रलोभन देखाएर आफूबाट २६ लाख रुपैयाँ ठगी गरेको पीडितको उजुरीका आधारमा प्रहरीले उनको खोजी गरेको थियो। त्यसपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले ठकुरीलाई बुढानीलकण्ठ–४ पासीकोटबाट बुधबार पक्राउ गरेको हो। 

थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचलको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।