पूर्वडीआईजी शाहसहित २ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

प्रहरी जवानको तलब भत्ता हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध २०७६ फागुनमा मुद्दा दायर गरेको थियो।

महेशविक्रम शाह

काठमाडौँ– नेपाल प्रहरीका पूर्वडीआईजी महेशविक्रम शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा न्यायाधीशहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले शाहसहित तत्कालीन लेखापाल प्रहरी नायव निरीक्षक दिपेन्द्रप्रसाद पनेरूलाई दोषी ठहर गरेको हो।* सहायक हवल्दार केशव सिंह ऐरी र कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सन्जीव बिशंखेलाई भने सफाइ दिएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए।

विशेष अदालतका अनुसार उनीहरू दोषी ठहर भए पनि सजाय निर्धारण गर्न बाँकी रहेको छ। उनीहरूमाथि ३१ लाख ३८ हजार ८४ रुपैयाँ बिगो दाबी गरिएको छ। सजाय निर्धारणको लागि यही पुस २५ गते पेसी तोकिएको छ।

प्रहरी जवानको तलब भत्ता हिनामिनामा गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध २०७६ फागुन २० गते मुद्दा दायर गरेको थियो। मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर चितवन र मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुलीमा प्रहरी जवानको तलब भत्ता आफै निकालेर हिनामिना गरेको अख्तियारको अनुसन्धानबाट देखिएको थियो।

शाह साहित्यकार पनि हुन्। उनको कथा संग्रह ‘छापामारको छोरो’ले २०६३ सालको मदन पुरस्कार पाएको थियो।

*यसअघि तथ्यगत त्रुटी हुन गएकोमा सच्याइएको छ-सम्पादक