धरौटी बुझाएपछि शरणार्थी नेता रिजाल रिहा

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि कारागार चलान भएका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल अदालतको आदेशपछि धरौटी बुझाएर बुधबार रिहा भएका छन्।

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि कारागार चलान भएका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल अदालतको आदेशपछि धरौटी बुझाएर बुधबार रिहा भएका छन्।

उक्त मुद्दामा सात महिना हिरासतमा बसेका नेता रिजाल धरौटी बुझाएर रिहा भएका उनका सहयोगी विश्वनाथ क्षेत्रीले जानकारी दिए। गत मंसिर १५ मा उच्च अदालत पाटनले उनलाई १५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो। तर धरौटी रकम बुझाउन नसक्दा उनी सुन्धारा कारागारमै थिए। 

काठमाडौँ जिल्ला अदालतमा आइतबार बेलुकी धरौटी रकम बुझाएका उनलाई त्यसपछि लगातार दुई दिन बिदा भएका कारण बुधबार रिहा गरिएको हो। अब उनी पुस २० गते काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुनुपर्नेछ।

शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेल परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण उच्च अदालतको आदेशअनुसार काठमाडाैँ जिल्ला अदालतमा ३० लाख र सम्पत्ति शुद्धीकरण विभागमा १५ लाख रुपैयाँ बुझाएर रिहा भइसकेका छन्।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप, आरोपी नरेन्द्र केसी, हरिभक्त महर्जन, शमशेर मियाँ र रामशरण केसीले पनि तोकिएको रकम बुझाएर रिहा भइसकेका छन्।

उक्त प्रकरणमा पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वउपप्रधानमन्त्री रायमाझी, इन्द्रजीत राईलगायत भने पुर्पक्षका लागि कारागारमा नै छन्।