गुफापोखरी लिफ्ट खानेपानी आयोजना अन्तिम चरणमा

गुराँसको राजधानी मानिने गुफापोखरी पर्यटकीय क्षेत्र रहेकाले खानेपानीको सहज उपलब्धताले यहाँ पर्यटकको संख्यामा थप वृद्धि हुने स्थानीयको अपेक्षा छ।

भोजपुर– संखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगमस्थल पर्यटकीय क्षेत्र गुफा पोखरीमा निर्माणाधीन लिफ्टिङ खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। तीन करोड लागत रहेको आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको हो। 

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरअन्तर्गत रहेको यो आयोजनाको काम २०७७/७८ मा थालिएको हो। योजना निर्माणको कामलाई यस वर्ष सम्पन्न गर्ने लक्ष्य रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख देवनाथ सिंहले बताए। पर्यटकीय क्षेत्र  गुफापोखरी, सुकेपोखरी र जोर पोखरीका स्थानीयलाई लक्षित गरेर आयोजना निर्माण भइरहेको कार्यालय प्रमुख सिंहको भनाइ छ। यो क्षेत्रमा पानीको अति नै समस्या रहेकाले प्राथमिकतामा राखेर काम अघि बढाएको उनको भनाइ छ। 

“पर्यटकीय क्षेत्र रहेकाले यहाँ पानीको अति नै समस्या छ। यही वर्ष सम्पन्न गरेर स्थानीयलाई पानी वितरण गर्ने लक्ष्य छ। हाल ८० प्रतिशत काम सम्पन्न भएको छ,” प्रमुख सिंहले भने।

आयोजनाको मुहानबाट ७०० मिटर मुख्य पाइपलाई विस्तार, विद्युत् जडान र मुख्य ट्यांकी निर्माणलगायतको काम सकिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रकाश आर्चायले बताए। तत्काललाई यहाँका करिब ६५ घरपरिवारले पानी उपभोग गर्न पाउने भए पनि यो आयोजनाबाट १५० बढी परिवारलाई पानी खुवाउने लक्ष्य रहेको अध्यक्ष आचार्यको भनाइ छ।

“यहाँ सिजनमा हजारौँ पर्यटकको आवागमन हुन्छ। पानीको समस्याको कारण बस्ती विस्तार हुन सकेको थिएन,” आचार्य भन्छन्, “यो आयोजनाले यहाँको पर्यटनको विकासमा समेत टेवा पुग्नेछ। योजनालाई एक महिनाभित्र सुचारु गराउने लक्ष्यका साथ काम गरिरहेका छौँ।”

धेरै उचाइमा रहेको तथा भौगोलिक रूपमा आयोजना सञ्चालन गर्न धेरै कठिनाइ छ। संखुवासभाको चैनपुर नगरपालिका–१ मा रहेको यो आयोजनास्थल निकै दुर्गम मानिन्छ। पानीको हाहाकार रहेको अवस्थामा आयोजनाको कामले तीव्रता पाएपछि स्थानीयमा उत्साह थपिएको आचार्यको भनाइ छ।

“यो योजना हाम्रो लागि अति नै महत्त्वपूर्ण छ,” उनले भने, “आयोजना निर्माणपछि घण्टौँ लगाएर डोको तथा ट्याक्टरमा पानी बोकेर खानुपर्ने अवस्थाको अन्त्य हुनेछ।”

बस्तीभन्दा तल रहेको भदौरे मूललाई लिफ्ट गरेर करिब ७०० मिटरमाथि मेन्छ्याम फेदीमा पुर्‍याएर पानी वितरणको तयारी गरिएको हो। गुफापोखरी पर्यटकीय क्षेत्र रहेकाले पानी विस्तारले यहाँ आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा थप वृद्धि हुने स्थानीयको अपेक्षा छ।