धौलागिरि आइसफल पदमार्ग पर्यटनको अथाह सम्भावना भए पनि प्रचार–प्रसार र पूर्वाधार अभावले ओझेलमा परेको छ। यसको प्रवर्द्धनमा स्थानीय युवाले अभियान नै चलाएका छन्।
बेनी– सरकारले पर्यटकीय गन्तव्यको रूपमा छनोट गरेको म्याग्दीको धौलागिरि आइसफल पदमार्गको प्रवर्धनमा युवा सक्रिय भएका छन्। रघुगंगा गाउँपालिकामा पर्ने धौलागिरि आइसफल पदमार्गअन्तर्गत धौलागिरि हिमालको आधार शिविर क्षेत्रको प्रचारप्रसार र प्रवर्द्धनमा वडा नम्बर ७ चिमखोलाको मण्डली युवा क्लबले सक्रियता देखाएको हो।
क्लबले आधार शिविरमा सूचनामूलक बोर्डसहित दृश्यावलोकन केन्द्र स्थापना गरेको छ। क्लब अध्यक्ष प्रवीन बुढाको नेतृत्वमा चिमखोलादेखि छरी–सुंगरथला हुँदै आधार शिविर पुगेका युवाको टोलीले समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा सूचनासहितको स्वागत बोर्ड स्थापना गरेका हुन्। यस्तै, आधार शिविरको साथै कालीबराह ताल र सेतीनी छहरामा समेत दृश्यावलोकन केन्द्र स्थापना गरेका छन्। आइसफल पदमार्गअन्तर्गत पर्ने कालीबराह ताल समुद्री सतहदेखि चार हजार ३०० मिटर उचाइमा अवस्थित छ।
ताल परिसरमा रहेको कालीबराह थानमा स्थानीयले पूजापाठसमेत गर्ने चलन रहेको छ। क्लबले यसअघि चिमखोलामा स्वागत बोर्ड स्थापना गर्नुका साथै सोवाङधुरी र पानी डाक्ने डाँडामा दृश्यावलोकन केन्द्र स्थापना गरेको थियो। “आइसफल पदमार्गका मुख्य–मुख्य पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि हामीले पहल थालेका हौँ। देश तथा विदेशमा रहेका चिमखोलावासीले हाम्रो प्रयासमा साथ दिनुभएको छ,” अध्यक्ष बुढाले भने।
धौलागिरि आइसफल पदमार्ग पर्यटनको अथाह सम्भावना भए पनि प्रचारप्रसार र पूर्वाधारको अभावले ओझेलमा परेको छ। यसलाई चिनाउन क्लबले अभियानकै रूपमा कार्यक्रम सञ्चालन गरेको छ। टान, तत्कालीन जिल्ला विकास समिति म्याग्दीलगायतका विभिन्न निकायको अगुवाइमा म्याग्दी र मुस्ताङलाई वैकल्पिक पदमार्गले जोड्ने गरी २०६८ सालमा म्याग्दीको गलेश्वर–राखुभगवती हुँदै धौलागिरि आइसफल पदमार्गको अध्ययन गरिएको थियो।
पदमार्ग पहिचान गरेर पदमार्गलगायत पूर्वाधार बनाउन थालेको एक दशक बढी समय भए पनि अझै यो क्षेत्र ओझेलमा रहेको अभियानका अगुवा ध्रुव पाइजाले बताए। “धेरैजसो अप्ठेरो ठाउँमा बाटो बनायौँ। कतिपय ठाउँमा त हामीले बनाएको बाटो नै बाढीले पनि बगायो,” उनले भने, “तर फेरि पनि पदमार्ग बनाउने काम भइरहेको छ। यो पदमार्गमा पूर्वाधारसँगै प्रचारप्रसार र नक्सांकन गरेर योजनाबद्ध रूपमा अघि बढ्न जरुरी छ।”
समुदायस्तरबाट धौलागिरि आइसफल र आधार शिविरको प्रचार प्रसारका लागि धेरै प्रयास भए पनि पदमार्गको नक्सांकनसहित सरकारी तवरबाट उचित पहलकदमी हुनुपर्ने उनको भनाइ छ। पर्यटन मन्त्रालयबाट विनियोजन भएको बजेटबाट अहिले पनि धौलागिरि आधार शिविर जाने पदमार्ग निर्माण भइरहेको छ। गत आर्थिक वर्षमा पर्यटन विभागले ठेक्का लगाएको एक करोड ५४ लाख बजेटबाट १८ किलोमिटर पदमार्ग बनाउने सम्झौताअनुसार, ससलधारा क्षेत्रबाट पदमार्ग बनाउने काम जारी छ।
ठेक्का सम्झौता गर्दा भिरमा पदमार्ग बनाउने स्टिमेट नगरेको कारण उक्त बजेटबा पुछार ओढार र चेप्टेओढार क्षेत्रको भिरमा पदमार्ग बनाउन अझै बाँकी रहेको रघुगंगा गाउँपालिका–७ चिमखोलाका वडाध्यक्ष थकप्रसाद पाइजाले बताए। “कम्तीमा अक्करे भिरमा डोरीको सहायताले हिँड्नुपर्ने ठाउँमा सुरक्षित पदमार्ग बनाउन सक्यौँ भने आइसफल पदमार्ग र आधारशिविर क्षेत्रमा पर्यटकको ओहोरदोहोर बढाउन सकिन्छ की भन्ने अपेक्षा छ,” उनले भने, “कालीबराह खोलालगायत ठाउँमा झोलुंगे पुलको समेत अभाव छ।”
पदमार्ग स्तरोन्नतीका लागि प्रदेश र संघीय सरकारसँग थप बजेटको माग गरिएको उनले सुनाए। आइसफल पदमार्गअन्तर्गत धौलागिरि आधार शिविर, निलीबराह ताल, कालीबराह ताल, सोवाङधुरीलगायतका दर्जनौँ आकर्षक पर्यटकीय गन्तव्य रहेका छन्। चिमखोलाका युवाले देखाएको सक्रियताले यस क्षेत्रको प्रचारमा सघाउ पुगेको वडाध्यक्ष पाइजाले जानकारी दिए। पदमार्गअन्तर्गत सेतिनी छहरा नजिकैको फाँटमा स्थानीय युवा कुशल पाइजाले होटल सञ्चालनमा ल्याएपछि पर्यटकको लागि राहत भएको छ।
चिमखोलादेखि दुई दिनको पदयात्रामा धौलागिरि आधारशिविर पुग्न सकिन्छ। बीचमा होटल नहुँदा यसअघि पर्यटक टेन्ट र ओढारमा बास बस्नुपर्ने बाध्यता रहेको थियो। धौलागिरि हिमालको आधार शिविरलाई समेटिएको १२२ किलोमिटर लामो आइसफल पदमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरी पूर्वाधार निर्माणको लागि पहल गरिएको रघुगंगा गाउँपालिकाले जनाएको छ।
अहिले कुइनेमंगलेको छरीदेखि चिमखोलाको ससलधारा हुँदै आधार शिविर पुग्ने पदमार्ग निर्माण भइरहेको छ। आधार शिविरदेखि कालीबराह हुँदै मुस्ताङको लेते निस्कने परम्परागत गोरेटोबाटो र भगवतीको रुइसेदेखि पछेत्राधुरी, सोबाङधुरी, लोसधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पहिचान गरिएको पदमार्गमा समेत सिँढी चिनेर पदमार्गलाई स्तरोन्नति गर्नुपर्ने काम बाँकी छ।
पदमार्गमा डाँफे, मुनाल, कालिज, कस्तुरी, झारल, नाउर, घोरल, थार, रतुवा, हिमचितुवालगायत पशुपन्छी र तीनको बासस्थानलाई समेत प्रत्यक्ष अवलोकन गर्न सकिन्छ। हिमालको हिउँ खसेको दृश्य (आइसफल), कालीबराह, लाटीबराह, निलीबराह, सेती बराह र पहेँलीबराह ताल थप आकर्षणका रूपमा छन्। पदमार्ग म्याग्दीको पिप्ले, भगवती, बेगखोला, चिमखोला, कुइनेमंगले, दोबालगायत ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
