५ दशकदेखि सीमामा संघर्ष गर्दै बडुवालवासी

दोधारा चाँदनी नगरपालिका–३ स्थित बडुवालटोलका ३५० परिवारमध्ये २० प्रतिशतको मात्रै जग्गाधनी पुर्जा छ। पुर्जा नहुँदा उनीहरू राज्यले दिने आधारभूत सेवा सुविधाबाट नै वञ्चित छन्। 

दोधारा चाँदनी– आफूले उपभोग गर्दै आएको जमिनको  जग्गाधनी पुर्जासमेत छैन भन्दा आश्चर्य लाग्न सक्छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलवासी बिना जग्गाधनी पुर्जा जीवनयापन गर्न विवश छन्।

जोगबुढा नदी पारी, नेपाल–भारत सीमासित जोडिएको बडुवाल टोलसित अभाव, गरिबी र आफूले पाउनुपर्ने अधिकारबाट वञ्चित हुनुपरेको पीडा छ। स्थानीय तहको निर्वाचनमा बडुवाल टोलबाट वडासदस्य पदमा निर्वाचन जितेकी दोधारा चाँदनी–३ का महिला वडासदस्य लक्ष्मी रानाले सीमाको पहरेदारीमा बसेका बडुवाल टोलमा ३५० परिवारमध्ये २० प्रतिशतको मात्रै जग्गाधनी पुर्जा भएको बताइन्। उनका अनुसार स्थानीयले २०५४ सालमा जग्गाधनी पुर्जा पाएका थिए।

२०७४ सालको निर्वाचन आसपास जोगबुढा नदीमा झोलुंगे पुल र नदी नियन्त्रणका लागि तटबन्ध बनेपछि बडुवाल टोलवासीले आफू नेपाली हुनुको आभास पाएको उनको भनाइ छ। पश्चिम भारततर्फ घनाजंगल र पूर्वतर्फ जोगबुढा नदीबीचको बडुवाल टोलका स्थानीयको प्रमुख माग नै आफूले लामो समय भोगचलन गरेको जग्गाको पुर्जा पाउँ भन्ने छ।

“भारतबाट आउने जंगली हात्तीले स्थानीयको ज्यान लिँदा पनि धनीपुर्जा नभएकै कारण क्षतिपूर्ति नपाएको पीडा बडुवाल टोलवासीले भोगेको छ,” वडासदस्य रानाले भनिन्, “दुःख, पीडा नभनी माटोको मायाले सीमामा संघर्ष गर्दै बसेका समुदायलाई कहीँकतैबाट सहानुभूति मिलेन।” सरकारी सुविधाका नाउँमा कच्ची सडक, सोलार बत्ती, एउटा खोप केन्द्र, प्राथमिक तहको स्कुल र पछिल्लो समय सशस्त्र प्रहरी बलको उपस्थितिबाहेक केही छैन।

स्थानीय गणेश आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर ओलीले बडुवाल टोलको अधिकांश जमिन फिल्ड बुकमा मात्रै कायम रहेको बताए। “२०५४ सालमा केहीले पुर्जा पाए पनि पछि आयोग फेरि आउँछ भनेर बन्द गरेछन्,” उनले भने, “हम्रो पहिलो माग नै जग्गाको पुर्जा नै हो।” सीमामा माटोको रक्षा गर्दै बसेका नागरिकलाई पुर्जा नदिएर राज्यले अन्याय गरेको उनको भनाइ छ।

महाकाली नदी नै सीमा नदीका रूपमा हेरिए पनि कञ्चनपुरका सवालमा भने त्यो लागू हुँदैन। महाकाली पारी दोधारा चाँदनी नगरपालिका छ। दोधारा चाँदनी नगरपालिकामा पनि जोगबुढा नदी बग्छ। जोगबुढा नदी पारी यहाँ दुई सीमा बस्ती छन्। बडुवाल टोल र कुतियाकवर। 

दोधारा चाँदनी नगरपालिका–१० मा पर्ने कुतियाकवर बस्तीमा ४२ विपन्न समुदायको बसोबास रहे पनि स्थानीयको हातमा अझै जग्गाधनी पुर्जा नपुगेको स्थानीय बहादुर सिंह सुनारको भनाइ छ। “जोगबुढा र महाकाली नदीले कुतियाकवर कटान गर्दै सीमा बस्ती नै बिलीन हुने चिन्ता भइसक्दा पुर्जा मिलेन,” उनले भने, “पुर्जाको आसैआसमा सीमा बस्तीबाट कटान र डुबानको समस्याले १०० भन्दा बढी परिवार नै पलायन भएको विगत छ।”

त्यसैगरी दोधारा चाँदनी नगरपालिका–३ का वडासदस्य लक्ष्मी रानाले भूमि आयोगमार्फत पुनः बडुवाल टोललगायत वडामा पुर्जा वितरणका लागि नापी आउन लागेको जानकारी दिए। “यही पुस २२ गते नापी आउने भनेर वडामा पत्राचार भइसकेको छ,” उनले भने, “आशा छ सीमाबस्तीदेखि सबैले जग्गाधनी पुर्जा पाउनेछन्।”

सीमामा सिपाहीको भूमिका निभाएका स्थानीयलाई राज्यबाट थप सहुलियतका कार्यक्रम सञ्चालन हुनुपर्नेमा जोड दिए। “सीमामा बसेकाले अझै बिजुली देख्न नपाएको पीडा नै हाम्रो बस्तीमा छ,” उनले भने, “गाउँमा केही समयअघि लगाएको सोलार बत्ती पनि केही बिग्रिसके।”

स्थानीय कमला सुनारले भारतीय जंगलबाट हरेक वर्ष आउने हात्तीबाट प्रताडित हुँदा पनि राज्यबाट कुनै चासो नदिइएको गुनासो पोखिन्। “न जमिनको पुर्जा छ नत जमिनमा लगाएको अन्नबाली नै भित्र्याउन सक्ने अवस्था छ,” उनले भनिन्, “हुँदाहुँदा घरभित्रको राखिएका धानका बोरासमेत हात्तीले खाइदिए।” छिमेकी सीता सुनारले हात्तीकै डरले अठार कट्ठा जमिन बाँझै छाडेको उनले सुनाइन्। 

हात्ती बस्तीमा आउन नदिन सीमामा तारबारको व्यवस्था गरिदिन उनले आग्रह गरे। अर्का स्थानीय द्रोपती आउजीले सीमामा बिना सुविधा माटोको माया गरेर बस्दा पनि राज्यले बेवास्ता गरेको दुखेसो पोखिन्। “अन्धकार बस्तीमा पनि कुनै सुख सुविधा नभनेर मुलुकको सीमा अतिक्रमणबाट जोगायौँ,” उनले भनिन्, “न बालबालिकाले राम्रो शिक्षादीक्षा पाए नत घर अग्रजले कुनै ज्याला मजदुरी नै।”

गाउँका अधिकांश पुरुष भारतीय बजारमा रोजगारीका लागि जानुपर्ने बाध्यता विद्यमान रहेको उनले सुनाइन्। “भारत गएर ज्याला मजदुरी नगरे जीविका चलाउन मुस्किल पर्छ,” उनले भनिन्, “आखिर सीमाका पहरेदार भनेर कहिलेसम्म गर्व गरेर बस्ने?।”