सुदूरपश्चिमलाई हराउँदै कोशी प्लेअफमा, गण्डकीको सम्भावना न्यून

एक खेल खेल्न बाँकी कोशीको ६ खेलबाट १० अंक छ। कोशी एपीएफसँग मात्रै पराजित भएको थियो। उसले अन्तिम खेल शनिबार लुम्बिनीसँग खेल्ने छ।

काठमाडौँ– सुदूरपश्चिमलाई पराजित गर्दै कोशी प्रदेश प्रधानमन्त्री कप महिला क्रिकेटको प्लेअफ पुगेको छ। बिहीबार सम्पन्न खेलमा सुदूरपश्चिमलाई ८ विकेटले पराजित गर्दै कोशीले प्लेअफमा स्थान बनाएको हो।

११९ रनको लक्ष्य पछ्याएको कोशीले १७.४ ओभरमा २ विकेट गुमाउँदै १२२ रन बनायो। कोशीको जितमा कप्तान रुविना क्षेत्री बेलबासे र काजल श्रेष्ठले अर्धशतकीय इनिङ्स खेलिन्।

काजलले ४८ बलमा ८ चौकासहित ५४ रन बनाइन्। यता, रुविनाले ५५ बलमा ८ चौका र १ छक्कासहित ५१ रनमा अविजित रहिन्।

पहिलो विकेटका लागि रुविना र काजलले १७.१ ओभरसम्म ११८ रनको साझेदारी गरेका थिए।

रुविना र काजलको साझेदारी सुदूरपश्चिमकी अनु कडायतले तोडेकी हुन्। उनले १७.१ ओभरमा काजललाई लक्ष्मी साउदबाट क्याच आउट गराइन्।

कोशीकी अप्सरी बेगम गोल्डेन डकआउट भइन्। बिमला मलहा ४ रनमा अविजित रहिन्। सुदूरपश्चिमकी अनु कडायतले २ विकेट लिइन्। उनले ३.४ ओभरमा १९ रन खर्चिइन्।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ११८ रन बनाएको थियो। सुदूरपश्चिमकी ओपनर बिन्दु रावलले सर्वाधिक ३३ रन बनाइन्। उनले ३९ बलमा ५ चौका प्रहार गरिन्।

सम्झना खड्का २७ रनमा बोल्ड आउट हुँदा कविता जोशी २६ रन र रेवती धामी २० रनमा अविजित रहिन्। कोशीकी अप्सरी बेगम र सबनम राईले १/१ विकेट लिए।

मधेशको दोस्रो जित
लुम्बिनीलाई पराजित गर्दै मधेशले प्रतियोगितामा दोस्रो जित हासिल गरेको छ। माथिल्लो मूलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा मधेशले लुम्बिनीलाई ८ विकेटले पराजित गरेको हो।

लुम्बिनीले दिएको ९७ रनको लक्ष्य मधेशले ७ बल बाँकी छदा २ विकेट गुमाउँदै पूरा गरेको हो। मधेशकी ओपनर पूजा महतोको अविजित रहँदै सर्वाधिक ६० रन बनाइन्। उनले ५९ बलमा ५ चौका प्रहार गरिन्।

अर्की ओपनर अनुराधा चौधरी १७ रन बनाउँदा सरस्वती कुमारी १२ रनमा अविजित रहिन्। लुम्बिनीकी कमला जीएम र सुस्मिता भुसालले १/१ विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९७ रन बनाएको थियो।

लुम्बिनीकी ओपनर लक्ष्मी चौधरीले अविजित रहँदै सर्वाधिक ६४ रन बनाइन्। उनले ६४ बलमा ८ चौका र २ छक्का प्रहार गरिन्। कप्तान सरस्वती जीएमले १० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

मधेशकी साक्षी यादवले २ विकेट लिइन्। उनले ३ ओभर बलिङ गर्दै १७ रन खर्चिएकी थिइन्। पूजा महतो, आरती महतो र कविता गौतमले १/१ विकेट लिइन्।

प्रतियोगितामा सहभागी ८ टोलीले ७ खेल खेल्ने छन्। शीर्ष चार टोली प्लेअफमा पुग्नेछन्। अपराजित रहँदै शीर्ष स्थानमा रहेको विभागीय टोली ५ खेलबाट १० अंक बनाउँदै यसअघि नै प्लेअफ पुगिसकेको छ। 

एक खेल खेल्न बाँकी कोशीको ६ खेलबाट १० अंक छ। कोशी एपीएफसँग मात्रै पराजित भएको थियो। उसले अन्तिम खेल शनिबार लुम्बिनी प्रदेशविरुद्ध खेल्ने छ। अंक तालिकाका शीर्ष दुई टोलीले सोझै क्वालिफायर खेल्ने छन्।

६ खेलबाट ८ अंक जोडेको सुदूरपश्चिमको पनि प्लेअफको सम्भावना कायमै रहेको छ। सुदूरपश्चिमले अन्तिम खेलमा आगामी शनिबार गण्डकीसँग खेल्ने छ। जारी प्रतियोगिता दोस्रो जित हासिल गरेको मधेश ४ अंक रहेको छ। समान अंक भएपनि लुम्बिनी मधेशभन्दा एक स्थान माथि छ। 

लुम्बिनी पाँचौँ स्थानमा छ। लुम्बिनी र मधेशले अन्तिम खेल कर्णालीसँग खेल्ने छन्। लुम्बिनीको पनि प्लेअफ सम्भावना गणितीय रूपमा रहेको छ। उसलाई अन्तिम खेल जितेर मात्रै पुग्दैन, अन्य टोलीको नतिजा पनि भर पर्नुपर्ने छ।