न्यु योर्क टाइम्सद्वारा ओपन एआई र माइक्रोसफ्टविरुद्ध मुद्दा दायर

ओपन एआईको च्याट जीपीटीलाई तालिम दिन आफ्नो प्रकाशनका दशौँ लाख लेखहरू अनुमतिबिना प्रयोग गरेको न्यु योर्क टाइम्सले जनाएको छ।

अमेरिकी समाचार संस्था न्यु योर्क टाइम्सले ओपन एआई र माइक्रोसफ्टविरुद्ध मुद्दा दायर गरेको छ। ओपन एआईको च्याट जीपीटीलाई तालिम दिन आफ्नो प्रकाशनका दशौँ लाख लेखहरू बिना अनुमति प्रयोग गरेको न्यु योर्क टाइम्सले जनाएको छ।

म्यानहटन राज्यको संघीय अदालतमा बुधबार दायर गरिएको मुद्दामा उसले "ठूलो लगानीको पत्रकारितामा ओपन एआईले निःशुल्क यात्रा गरेको" आरोप लगाएको छ। टाइम्सले ओपन एआई विरुद्ध मुद्दा दायर गर्ने आफू सम्भवतः पहिलो सञ्चारगृह भएको दाबीसमेत गरेको छ। 

टाइम्सले यस मुद्दामा यकिन बिगो मागदाबी भने गरेको छैन। तर, आफूले गरेका कामहरूको गैरकानूनी तरिकाले ‘कपी’ गरेको भन्दै अर्बौं डलरको क्षतिपूर्ति भराउनुपर्ने जनाएको छ। यस्तै, टाइम्सबाट लिइएका सामग्रीमार्फत् बनेका च्याटबट मोडल र ट्रेनिङ डाटाहरू समेत नष्ट गर्नुपर्ने माग गरेको छ।

टाइम्सले यसबारे चिन्ता व्यक्त गर्दै माइक्रोसफ्ट र ओपनएआईसँग छलफलका लागि प्रस्तावसमेत गरेको मुद्दामा उल्लेख छ। यसबारे सौहार्दपूर्ण समाधान र व्यापारिक सम्झौता समेत गर्न खोजे पनि त्यसबाट कुनै निकास ननिस्किएको उसले बताएको छ। 

यता ओपन एआईले लेखक र पत्रिकाको अधिकारको सम्मान गर्ने प्रतिक्रिया दिएको छ। ओपन एआईले टाइम्सलाई पठाएको इमेलमा लेखेको छ, "टाइम्ससँगको हाम्रो निरन्तर कुराकानी फलदायी हुँदै छ र रचनात्मक रूपमा अगाडि बढीरहेको छ, तर पछिल्लो समय सृजित गतिविधिले भने निराश बनाएको छ।"

माइक्रोसफ्ट ओपन एआईको प्रमुख लगानीकर्ता र प्रयोगकर्ता पनि हो। तर, टाइम्सको मुद्दाबारे माइक्रोसफ्टले तत्काल कुनै प्रतिक्रिया जनाएको छैन।