कुलमान घिसिङ भन्छन् : महसुल नतिर्ने उद्योगहरूको क्रमशः लाइन काट्दै जान्छौँ

कुलमान घिसिङले सरकारको निर्णय, संसदीय समितिको निर्देशन र अदालतको फैसला तथा अख्तियारको सुझाव एवं निर्देशनमा सबैको सहमतिबाट महसुल नतिर्ने उद्योगको विद्युत् लाइन काटेको बताएका छन्।

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ट्रंक र डेडिकेटेड लाइनको महसुल नतिर्ने उद्योगहरूको लाइन सामूहिक निर्णयबाट काटिएको दाबी गरेका छन्।

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले सरकार, अदालत र संसदीय समितिको निर्णय र निर्देशनमा महसुल नतिर्नेहरूको लाइन काटेको बताएका हुन्। 

कार्यकारी निर्देशक घिसिङले विभिन्न समयमा मन्त्रिपरिषद्को निर्णय, संसदीय समितिको निर्देशन र अदालतको फैसला तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुझाव एवं निर्देशनमा सबैको सहमतिबाट महसुल नतिर्ने उद्योगको विद्युत् लाइन काटेको जिकिर गरे।

उनले नेपाल विद्युत् प्राधिकरणको एकल निर्णय र कार्यकारी निर्देशकको निर्देशनले मात्रै ट्रंक लाइन र डेडिकेटेड लाइनको महसुल नतिर्ने उद्योगको लाइन नकाटिएको प्रस्ट्याए। “यो एउटा व्यक्तिले बोलेको विषय होइन। विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकले बिल गरेको वा लिनुपर्ने भनेको विषय होइन। यो सामूहिक निर्णयबाट आएको हो” उनले भने।

कार्यकारी निर्देशक घिसिङले उद्योगहरूले रकम भुक्तानी नगरेपछि अब लाइन काट्नुको विकल्प नरोहेको निष्कर्षसहित विद्युत् लाइन काटिएको बताए। विद्युत् महसुल नबुझाउने उद्योगहरूको क्रमशः लाइन काट्दै जाने उनको भनाइ छ।

“हाम्रा प्रयासहरू अब हामीले विद्युत् लाइन नकाटीकन सम्भव छैन, भन्ने भएपछि अन्तिम चरणमा आएर उद्योगीहरूको विद्युत‍्को लाइन काट्न बाध्य भएका छौँ, हामीले ९ वटा उद्योगीहरूको विद्युत् लाइन काटेका छौँ। करिब ६१ वटा उद्योगीहरूको ट्रंक लाइन र डेडिकेटेड महशुल बाँकी छ,” उनले भने, “अब क्रमिक रूपले काट्दै जान्छौँ।”