प्रधानमन्त्री कार्यालयका ६८ कर्मचारीको दरबन्दी कटौती

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका कर्मचारीको दरबन्दी कटौती गर्ने निर्णय गरेको छ। 

काठमाडौँ– सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका कर्मचारीको दरबन्दी कटौती गर्ने निर्णय गरेको छ। 

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री कार्यालयको हालको दरबन्दीमा ६८ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको हो।

बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पुनः संरचना गर्ने उद्देश्यअनुरूप कर्मचारीको दरबन्दी कटौती गर्ने निर्णय गरिएको जनाइन्।

त्यस्तै, सरकारले २०८०/०८१ का लागि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। उनका अनुसार बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३६ हजार ५० रुपैयाँ निर्धारण गरेको हो।

सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमतर्फ रिक्त सदस्यसचिव पदमा महेश भट्टराईलाई तोकेको छ।