एक शताब्दीभन्दा लामो समयको वैज्ञानिक प्रयासहरूपछि यही वर्ष विश्वले अन्ततः मलेरियासँग लड्न सस्तो भ्याक्सिन पनि पाएको छ।
स्वास्थ्यका हिसाबले सन् २०२३ उपलब्धिपूर्ण रहेको देखिन्छ। यो वर्ष स्वास्थ्यका विभिन्न क्षेत्रमा नयाँ अनुसन्धान तथा आविष्कार भएका छन्। स्वास्थ्य क्षेत्रमा भएका केही उपलब्धिहरूले मानिसमा आशा जगाएको छ। जुन यसप्रकार छन्ः
एआईबाट मुटुको स्वास्थ्य जाँच
यो वर्ष आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआई निकै चर्चामा रह्यो। यसको एक नयाँ उपकरणले मदिरा, धूमपान, खानपानको खराब बानी र व्यायामको कमीले मानिसको मुटु समयभन्दा पहिले नै बुढ्यौली हुने गरेको खुलासा गरेको छ।
यस खोजको उद्देश्य मुटुको बुढ्यौलीको गतिलाई उल्टाउनु हो, ताकि हृदयघात वा उमेर सम्बन्धी रोगहरूको जोखिमलाई कम गर्न सकिन्छ। एआईको यो प्रणाली मेडिकल रिसर्च काउन्सिल (एमआरसी)को लन्डन इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एमआरसी)का प्रोफेसर डेक्लान ओरेगनको नेतृत्वमा रहेको टोलीले विकसित गरेको हो।

मुटुको स्वास्थ्य मापन गर्ने धेरै तरिकाहरू छन्। यसमा स्क्यान, इलेक्ट्रोकार्डियोग्राम (ईसीजी) र रक्तचाप समावेश छ। तर, यी सबैले मुटुको स्वास्थ्य अहिले कस्तो छ र भविष्यमा दैनिक रूपमा वा आगामी महिनाहरूमा कस्तो रहनेछ भनेर मात्र देखाउँछ। एआईको विश्लेषणले समयसँगै मुटुभित्र कति फोहोर जम्मा भएको भन्ने बताउँछ। यस्तै यसले मानिसको जीवनकालमा उसको मुटुलाई कति धक्का दिएको छ भनेर समेत बताउने सक्ने अनुसन्धानमा संलग्न डाक्टरको भनाइ छ।
मलेरियाको दोस्रो भ्याक्सिन
एक शताब्दीभन्दा लामो समयको वैज्ञानिक प्रयासहरू पछि, विश्वले अन्ततः मलेरियासँग लड्न सस्तो भ्याक्सिन फेला पारेको छ। यो नयाँ मलेरिया खोप अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको हो, जुन विश्वमा मात्रै दोस्रो औलो खोप हो। यसभन्दा दुई वर्षअघि ग्लैक्सोस्मिथक्लाइन (जीएसके)ले मलेरियाको खोप आरटीएस–एस विकास गरेको थियो।
विश्व स्वास्थ्य संगठनले मलेरियासँग लड्न दुवै खोपहरू उस्तै प्रभावकारी रहेको र एउटा खोप अर्कोभन्दा राम्रो भएको कुनै प्रमाण नभएको बताएको छ। यद्यपि, दुई खोपहरू बीचको ठूलो भिन्नता यो हो कि अक्सफोर्ड विश्वविद्यालयको खोप, आर२१, ठूलो मात्रामा उत्पादन गर्न सकिन्छ।

विश्वको सबैभन्दा ठूलो भ्याक्सिन निर्माता सीरम इन्स्टिच्युट अफ इन्डियाले पनि यो नयाँ मलेरिया खोपको वार्षिक १० करोड डोज उत्पादन गर्ने तयारी गरेको छ। कम्पनीले यसलाई एक वर्षमा २० करोड डोजमा पुर्याउने योजना बनाएको छ। जबकि, ग्याक्सोस्मिथकेलाइनको औलो खोप आरटीएसएसको १.८ करोड डोज मात्र तयार छ। विश्व स्वास्थ्य संगठनले नयाँ मलेरिया खोप आर२१ रोगसँग लड्न महत्वपूर्ण साबित हुने जनाएको छ।
यो खोपको एक डोज दुईदेखि चार डलरमा तयार हुनेछ र प्रत्येक व्यक्तिले यसको चार डोज लिनुपर्नेछ। यो खोपको मूल्य आरटीएस, एसको तुलनामा झण्डै आधा छ। यी दुवै खोपहरू तयार गर्न समान प्रविधि प्रयोग गरिएको छ। यद्यपि, नयाँ खोप बनाउन सजिलो भएको बताइएको छ।
विश्वकै पहिलो आँखा प्रत्यारोपण
सन् २०२१ मा अमेरिकामा बस्ने आरोन जेम्सको अनुहार ७ हजार २०० भोल्टको नांगो बिजुलीको तारमा छोइँदा पुरै जलेको थियो। उनले २०२३ को मे मा आंशिक अनुहार प्रत्यारोपण गराएका थिए।
यसबाहेक उनको बायाँ आँखा पनि प्रत्यारोपण गरिएको छ। यो दुर्लभ प्रत्यारोपणमा १४० स्वास्थ्यकर्मी संलग्न थिए। उनको यो धेरै जटिल प्रत्यारोपण एनवाईयू ल्यांगोन हेल्थ, न्यु योर्कका सर्जनहरूद्वारा गरिएको थियो। अस्पतालले गत नोभेम्बरमा यो शल्यक्रियाको अपडेट दिएको थियो र ४६ वर्षीय जेम्सको स्वास्थ्यमा सुधार आएको र निको भइरहेको बताएको थियो।

उनको दाहिने आँखाले अझै काम गर्छ। जेम्सको शल्यक्रियाले वैज्ञानिकहरूलाई मानव आँखामा लागेको घाउ कसरी निको हुन्छ भनेर बुझ्ने अभूतपूर्व अवसर दिएको संलग्न डाक्टरहरू बताउँछन्। यद्यपि, यो अझै निश्चित छैन कि आरोन जेम्सको क्षतिग्रस्त आँखाले दृष्टि फिर्ता पाउनेछ। तर, डाक्टरहरूले यो सम्भावनालाई अस्वीकार गरेका छैनन्।
घुँडाका बिरामीलाई राहत
वैज्ञानिकहरूले ‘थ्री डी’ प्रिन्टिङ प्रविधिको प्रयोग गरी यस्तो प्रत्यारोपण तयार गरेका छन्, जसले घुँडा दुख्ने बिरामीलाई मद्दत गर्न सक्छ।
ओस्टियोटोमी नामक विशेष शल्यक्रिया मार्फत व्यक्तिको घुँडाको हड्डीलाई या त काटिन्छ वा अलिकति झुकाइन्छ। यो कृत्रिम घुँडा ‘युनिभर्सिटी अफ बाथ’का वैज्ञानिकहरूले विकास गरेका हुन्। यस प्रविधिबाट छिटो र सुरक्षित रूपमा घुँडाको शल्यक्रिया गर्न सकिन्छ।
थ्रीडी हाई टिबियल ओस्टियोटोमी प्लेटहरू बिरामीको घुँडालाई पुनः मिलाउन प्रयोग गरिन्छ। यी पहिले उपलब्ध प्लेटहरू भन्दा बढी स्थिर, थप सहज र धेरै भार सहन सक्ने हुन्छन्।

यस प्रक्रियामा बिरामीलाई कस्तो प्रकारको शल्यक्रिया गर्नुपर्छ भन्ने पत्ता लगाउन डाक्टरहरूले बिरामीको घुँडा र त्यहाँको हड्डीको एक्सरे र सीटी स्क्यान गर्छन्। त्यसपछि, थ्रीडी प्रिन्टरको सहायताले घुँडालाई स्थिर बनाउन सर्जिकल गाइड प्लेट तयार गरिन्छ।
पाँच बिरामीहरूमा प्रारम्भिक सुरक्षा परीक्षणपछि, इंग्ल्यान्ड र वेल्समा ५० जना थप व्यक्तिहरू अब परम्परागत घुँडा शल्यक्रियाको सट्टा यो नयाँ प्रविधिको परीक्षणमा थपिएका छन्।
सिकलसेल एनिमिया रोगको उपचारमा नयाँ आयाम
जीन सम्पादन गर्ने प्रविधि ‘क्रिस्पर’को आविष्कार भएको झन्डै एक दशकपछि जीन सम्पादन गरेर उपचार गर्ने पद्धतिलाई अमेरिकाले डिसेम्बर पहिलो हप्ता स्वीकृति दिएको छ। यसलाई मेडिकल क्षेत्रमा नयाँ आयामको रूपमा लिइएको छ। साथै योसँगै वंशाणुगत रोगको उपचारको लागि नयाँ ढोका खुलेको बताइएको छ।
‘यूएस फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन–एफडीए’ले जीन सम्पादन गरेर सिकलसेल एनिमिया रोगको उपचार गर्न स्वीकृति दिएको हो। गत डिसेम्बर ८ तारिखका दिन एफडीएले केसगेभी र लाइफजेनिका गरी दुई प्रकारका जीन सम्पादन पद्धतिलाई अनुमोदन गरेको थियो।

गत नोभेम्बरमा बेलायतको मेडिसिन र हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सीले पनि केसगेभीलाई अनुमोदन गरेको थियो। जीन सम्पादन गरेर सिकलसेल एनिमिया र बेटा थाल्सिमिया रोगको उपचार गर्न सकिन्छ। सिकलसेल एनिमियाँ रोग एक प्रकारको आनुवांशिक अवस्था हो। एकल उत्परिवर्तित जीनको कारणले गर्दा रगतमा आउने विकारले राता रक्तकोषमा असर गर्छ। जसले ती रक्तकोषको आकार गोलो नभएर हँसिया जस्तै बन्छन्।
जीन थेरापी तथा जीन इडिटिङ पद्धति निकै महँगो छ। नेपाली ३० देखि ४० करोड रुपैयाँसम्म लाग्छ। त्यसैले आम नागरिकले यो प्रविधिको लाभ लिएर उपचार गर्न सक्ने अवस्था तत्कालै देखिँदैन।
मस्तिष्कमा जीवित कीरा भेटियो
विश्वमा पहिलो पटक वैज्ञानिकहरूले एक अस्ट्रेलियाली महिलाको मस्तिष्कबाट ८ सेन्टिमिटर लामो जिउँदो कीरा निकालेका छन्। गत वर्ष क्यानबेरामा शल्यक्रियाका क्रममा बिरामीको घाइते फ्रन्टल लोबबाट धागो जस्तो किरा निकालिएको थियो। तर, यो शल्यक्रियाको पूर्ण रिपोर्ट यसै वर्ष सार्वजनिक भएको छ।
महिलाको शल्यक्रियामा संलग्न डाक्टरहरूले मस्तिष्कभित्र यति ठूलो जुका भेटिन्छ भनेर कल्पना गर्न पनि नसकिने बताएका छन्।

यी ६४ वर्षीया महिला केही महिनादेखि पेट दुख्ने, खोकी लाग्ने र राति पसिना आउने जस्ता समस्याबाट पीडित थिइन्। बिस्तारै उनी डिप्रेसन र एम्नेसियाको सिकार भइन्। सन् २०२१ को जनवरीमा उनलाई अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ स्क्यान गर्दा उनको मस्तिष्कको दाहिने भागमा एउटा अनौठो घाउ देखायो। तर त्यसको वास्तविक कारण भने सन् २०२२ को जुनमा बायोप्सी गर्दा मात्रै थाहा भयो।
अनुसन्धानमा खटिएका डाक्टरका अनुसार अस्ट्रेलियामा पाइने एक प्रकारको अजिंगर (कार्पेट पाइथन)मा ओफिडास्कारिस रोबर्टसी नामको त्यो जुका सहजै भेटिन्छ। ती महिलाले आफू बसेको स्थान नजिकै तालको छेउमा घाँस काट्ने क्रममा त्यो जुका समातिएको हुनसक्ने उनीहरूको भनाइ छ। यो घटनाले जनावरबाट मानिसमा सर्ने रोग र संक्रमणको बढ्दो जोखिमलाई औँल्याएको डाक्टरहरूले बताएका छन्।
एजेन्सीहरूको सहयोगमा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
