एनसेलबारे समितिको प्रतिवेदनपछि सरकारले आवश्यक निर्णय लिन्छ: सञ्चारमन्त्री

मन्त्री शर्माले छानबिन समितिले निर्भीकतापूर्वक र स्वतन्त्रतापूर्वक तथा सरोकारवाला सबै निकायहरूसँग समन्वयमा काम गरिरहेको बताइन्।

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनसेल शेयर खरिद–बिक्री प्रकरणको सम्बन्धमा छानबिन गर्न गठित समितिको प्रतिवेदन आउनासाथ सरकारले आवश्यक निर्णय लिने बताएकी छन्।

बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सञ्चारमन्त्री शर्माले एनसेल शेयर खरिद–बिक्री प्रकरण छानबिन गर्न गठित समितिको प्रतिवेदन आउनासाथ सरकारले आवश्यक निर्णय लिने बताएकी हुन्।

उनले समितिले निर्धारित समयमै काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले कर छलीको प्रयत्न भएको अथवा कानूनविपरीत काम भएको पाइएमा कानूनी दायरामा ल्याइने स्पष्ट पारिन्।

“अहिले समिति अध्ययन, छानबिनमै भइराखेको हुनाले ठ्याक्कै के भएको हो, के हुनेवाला छ भन्ने कुरा अहिले छिटो हुन्छ होला,” उनले भनिन्, “उसले काम सम्पन्न गर्न बित्तिकै हामी यसमा आवश्यक निर्णय लिनेछौँ।”

मन्त्री शर्माले छानबिन समितिले निर्भीकतापूर्वक र स्वतन्त्रतापूर्वक तथा सरोकारवाला सबै निकायहरूसँग समन्वयमा काम गरिरहेको बताइन्। दूरसञ्चार प्राधिकरणले आफ्नो तर्फबाट गर्ने काम पनि गरिरहेको उनको भनाइ छ। मन्त्रालयले पनि आवश्यक काम गरिरहेको उल्लेख गर्दै एनसेल नेपालको स्वामित्वमा आउनुपर्ने विषयमा पनि सरकार गम्भीर रहेको उनले बताइन्।

मन्त्री शर्माले दूरसञ्चार ऐन संशोधन गर्न मन्त्रालय लागि परेको पनि बताइन्। उनले मन्त्रिपरिषद्बाट सो ऐन संशोधनका लागि सैद्धान्तिक स्वीकृति लिएर काम अगाडि बढाइएको बताइन्। उनले ऐनमा भएका छिद्रहरूलाई टालेर र दूरसञ्चारको क्षेत्रमा समय अनुकूलको विकासलाई अगाडि बढाउने गरी संशोधन गरिने जानकारी दिइन्।