भत्कियो ढलान हुने अवस्थाको पुल, छानबिन गर्न स्थानीयको माग

पूर्वाधार विकास कार्यालय भोजपुरबाट ठेक्का लगाइएको पुल नबन्दै भत्किएपछि नियमनकारी निकायले यसको तत्काल छानबिन गर्नुपर्ने माग स्थानीयले राखेका छन्।

भोजपुर– षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जोड्ने इर्खुवाखोलामा निर्माणाधीन मोटरोबल पुल भत्किएको छ। यो पुलले षडानन्न नगरपालिका–२ र साल्पासिलिछो गाउँपालिका–३ जोड्छ।

ढलान गर्न तयारी अवस्थामा रहेको मोटरेबल पुल बिहीबार भत्किएको हो। अन्तिम चरणमा पुगेको पुल भत्किएसँगै स्थानीयको सहज रूपमा आवतजावत गर्ने चाहना पनि निराशामा परिणत भएको छ। स्थानीयले ठेकेदारको लापरबाही र इन्जिनियरको कमजोरीका कारण पुल भत्किएको आरोप लगाएका छन्। 

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईले ढलानका लागि छड राखिसकेको अवस्थामा पुल तल खसेको बताए। पूर्वाधार विकास कार्यालय भोजपुरबाट ठेक्का लगाइएको पुल नबन्दै भत्किएपछि नियमनकारी निकायले यसको तत्काल छानबिन गर्नुपर्ने माग स्थानीयले राखेका छन्।

लापरबाहीका कारण यसअघि पनि भोजपुरकै दक्षिण क्षेत्र जोड्ने कावा खोलामा पाँच करोड बढीको लागतमा निर्माण भइरहेको पक्की पुल पनि २०७८ मंसिरमा भत्किएको थियो। हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने स्थानमा स्विस सरकारको आर्थिक सहयोगमा बनिरहेको पुल भत्किएको थियो।