धितोपत्र बोर्डका अध्यक्षको सम्पत्ति छानबिन गर्न संसदीय समितिको निर्देशन

संसदीय समितिले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्देशन दिएको छ।

काठमाडौँ– संसदीय समितिले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्देशन दिएको छ।

बिहीबार बसेको सार्वजनिक लेखा समितिको बैठकले अध्यक्ष हमालको सम्पत्ति छानबिन गर्न विभागलाई निर्देशन दिएको हो।

आर्थिक चलखेल गरी अवाञ्छित र अपारदर्शी रूपमा विभिन्न कम्पनीलाई प्रिमियम मूल्यमा प्राथमिक शेयर ल्याउन अनुमति दिएको भन्दै हमालको सम्पत्ति छानबिन गर्न निर्देशन दिएको हो। समितिले विभागलाई ३० दिनभित्र छानबिनको प्रगति विवरण पेस गर्न पनि भनेको छ।

“नेपाल धितोपत्र बोर्डका अध्यक्षले आर्थिक चलखेल गरी अवाञ्छित र अपारदर्शी रूपमा विभिन्न कम्पनीलाई प्रिमियम मूल्यमा प्राथमिक शेयर ल्याउन अनुमति दिएर गैर जिम्मेवारीपूर्ण कार्य गरेको भनी व्यापक रूपमा जनगुनासो रहेको र समितिमा सो सम्बन्धमा कुरा उठेकाले उहाँको सम्पत्ति शीघ्र छानबिन गर्न र ३० दिनभित्र सो सम्बन्धी कार्यप्रगित विवरण समितिलाई उपलब्ध गराउन समितिको यो बैठक सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्देशन गर्दछ,” समितिको निर्णयमा भनिएको छ।

समितिको बिहीबारको बैठकमा अध्यक्ष हमालसँग छलफल गर्ने कार्यसूची थियो। तर उनी समितिको बैठकमा उपस्थिति भएनन्। अध्यक्ष हमाल बिना सूचना समितिमा अनुपस्थिति भएकोप्रति पनि समितिले आपत्ति जनाएको छ। यसले संसदीय समिति र आमजनतामाथिको गैरजबाफदेही र अपमान भएको ठहर गरेको छ। आगामी दिनमा पनि उत्तरदायित्व बहन हुनेमा आशंका व्यक्त गर्दै समितिले उनको अनुपस्थितिप्रति खेद प्रकट गरेको छ।

“सर्वसाधारणको हित संरक्षण गर्ने संस्था नेपाल धितोपत्रका बोर्डका अध्यक्षको यस्तो गैर जबाफदेहिताले आगामी दिनमा उहाँबाट सार्वजनिक उत्तरदायित्व बहन हुनसक्ने कुराप्रति सन्देह व्यक्त गर्दै अनुपस्थितिप्रति समितिको यो बैठक खेद व्यक्त गर्दछ,” समितिको निष्कर्षमा भनिएको छ।