मैदानेका विद्यार्थीको पीडा: ३ घण्टा जंगलको बाटो छिचोलेर विद्यालय

रामेछापको लिखु तामाकोशी–२ मैदानेबाट सबैभन्दा नजिकको विद्यालय वडा कार्यालयसँगै रहेको चण्डेश्वरी मावि हो। गाउँबाट विद्यालय पुग्न साढे दुईदेखि तीन घण्टासम्म लाग्छ।

रामेछाप– लिखु तामाकोशी गाउँपालिका–२ सैपु मैदानेका बालबालिका विद्यालय जानआउन दैनिक पाँच घण्टा जंगलको यात्रा गर्न बाध्य छन्। 

नजिकै विद्यालय नहुँदा सो गाउँका बालबालिकाले विद्यालय जान जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ। सोही जोखिम मोल्दै मैदानेकी निशा मगरले ११ कक्षासम्मको पढाइ छिचोलेकी छिन्। सो गाउँबाट विद्यालय जाने एक मात्र विद्यार्थी हुन् निशा। 

“पहिला अरू पनि थिए। स्कुल सारै टाढा भएपछि कोही काठमाडौँ गए। म चाहिँ शुरूदेखि नै घरैबाट विद्यालय धाइरहेकी छु,”, निशाले भनिन्।

विद्यालय जान बिहान ७ देखि ७ः३० बजेसम्म घरबाट निस्किसक्नु पर्छ। बेलुका घर फर्किँदा पनि ७ बज्छ। “हिँड्दा हिँड्दै थाकिन्छ। पढ्ने समय नै हुँदैन,” निशाले सुनाइन्। 

त्यस गाउँबाट सबैभन्दा नजिकको विद्यालय वडा कार्यालयसँगै रहेको चण्डेश्वरी मावि हो। मैदानेबाट विद्यालय पुग्न साढे दुईदेखि तीन घण्टासम्म लाग्छ। “सो गाउँबाट सबैभन्दा नजिकैको स्कुल नै चण्डेश्वरी मावि हो। बच्चालाई पढ्न जान तीन घण्टासम्म हिँड्नु पर्छ,” लिखु तामाकोसी गाउँपालिका–२ का वडाध्यक्ष सन्तोष पौडेलले भने, “त्यसैले केहीले आफ्ना बच्चालाई बाहिरै राखेर पढाउन लागेका छन्।”

मैदानेमा स्वास्थ्य चौकीलगायत व्यवस्था हुन सकेको छैन। गाउँमा जम्मा तीन घर छन्। “त्यति घरको लागि छुट्टै व्यवस्था गर्न पनि नसकिने, उहाँहरू पनि पुर्खाको थातथलो छाडेर हिँड्ने कुरा पनि भएन,” वडाध्यक्ष सन्तोषले भने। 

मैदानेमा एउटै बाबुका तीन भाइ छोराहरूको घर छ। धनबहादुर मगर काजी, सोमवीर मगर सुब्बा र जितबहादुर मगर सञ्चा, तीन भाइका घर गोठ छन् मैदानेमा। सो गाउँको जमिन उब्जाउयोग्य छ। मैदानेको आलु जिल्लामा नै कहलिएको छ। त्यसैले पनि तीन भाइले सो गाउँ छाड्न सकेका छैनन्।  

वडा कार्यालयको पहलमा बुधबार साँझ सो गाउँमा बिजुली बत्ती बलेको छ। मैदानेमा वडा कार्यालयकै पहलमा मोटर बाटो त पुगेको छ।

हिउँदमा जेनतेन मोटर चल्न सक्ने सो बाटोमा मोटर चढ्ने मान्छे नै नभएपछि सार्वजनिक यातायात चल्ने सम्भावना छैन। त्यसले गर्दा वडाको केन्द्रसम्म हिँडेर आउनुको विकल्प स्थानीयसँग छैन।