आहा रारा पोखरा गोल्डकप माघ ९ देखि

प्रतियोगितामा बचत हुने रकम क्लबबाट सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिन्छ। एकेडेमीमा आठ जिल्लाका १४ जना बालक आश्रित छन्।

कास्की– आहा रारा पोखरा गोल्डकपको २३औँ संस्करण माघ ९ देखि २० सम्म सञ्चालन हुने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)बाट समय तालिका प्राप्त भएपछि प्रतियोगिताको तयारी शुरू गरिएको आयोजक सहारा क्लब पोखराका क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए। प्रतियोगिता पोखरा रंगशालास्थित फुटबल मैदानमा सञ्चालन हुनेछ।

‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन शहरका रूपमा स्थापित गरौँ’ भन्ने उद्देश्यका साथ बर्सेनि हुँदै आएको प्रतियोगितामा यसपटक विदेशी टोली, ‘ए’ डिभिजनका क्लब, मोफसलका टोली र आयोजकको टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने क्लबले जनाएको छ।

गत संस्करणको विजेता संकटाटा क्लब काठमाडौँ तथा उपविजेता भुटनिज युथ स्पोर्टस् क्लब, अमेरिका थिए। २०५५ सालमा स्थापित सहारा क्लबले आयोजन गर्ने प्रतियोगिता पोखराकै पर्यायवाचीका रूपमा लिने गरिन्छ। आहा रारा गोल्डकप देशकै पुरानो मध्येको एक प्रतियोगिता हो। यसैगरी, उत्कृष्ट पाँच विधाको पुरस्कार सूर्यबहादुर केसीको स्मृतिमा प्रायोजन गरिएको छ। 

राष्ट्रिय सर्वोत्कृष्ट वर्ष खेलाडी पुरस्कार सहारा क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङद्वारा प्रायोजन गरिएको छ। ‘म्यान अफ दी म्याच’, ट्रफी, नगद र मेडल, सहारा युकेले सहयोग गर्ने महासचिव अधिकारीले बताए। प्रतियोगितामा बचत हुने रकम क्लबबाट सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिनेछ। 

क्लबले विपन्न तथा कठिन परिस्थितिका बालकलाई आवासीय रूपमा निःशुल्क स्वास्थ्य, शिक्षादीक्षा र फुटबल प्रशिक्षण दिँदै आएको छ। क्लबले सहारा फुटबल एकेडेमी सञ्चालन गरी बालकलाई फुटबल खेल सिकाउँदै आएको छ। हाल चौथो ब्याचको एकेडेमीमा आठ जिल्लाका १४ जना बालक आश्रित छन्।