बालकुमारीमा ईपीएस आन्दोलनकारीको प्रदर्शन, मन्त्री ज्वालाको गाडीमा आगजनी

प्रदर्शनमा उत्रिएका युवाहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले प्रयोग गरेको गाडीमा आगजनी गरेको ललितपुर प्रहरीले जानकारी दिएको छ। 

काठमाडौँ– रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत कोरियन भाषाको परीक्षामा आवेदन दिन नपाएको भन्दै युवाहरूले ललितपुरको बालकुमारीमा प्रदर्शन गरेका छन्। 

उनीहरूले सडकमा टायर बालेर प्रदर्शन गरेका छन्। जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा अनुत्तीर्ण भएकाले आफूहरूलाई  उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा सहभागी गराउन माग गर्दै प्रदर्शन गरेका हुन्। 

प्रदर्शनमा उत्रिएका युवाहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले प्रयोग गरेको गाडीमा आगजनी गरेको ललितपुर प्रहरीले जानकारी दिएको छ। 

उनीहरूले बा२झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए।

“ईपीएस परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाले मन्त्रीको गाडीमा आगजनी गरेका छन्। प्रहरी टोली पनि त्यहाँ पुगेको छ। थप विवरण आउन बाँकी छ,” उनले भने। 

अहिले कोटेश्वर–बालकुमारी क्षेत्र तनावग्रस्त छ।