प्रो क्लब च्याम्पियनसिप: आर्मीलाई पराजित गर्दै पर्सा ११ फाइनलमा

पर्साले आर्मीलाई ३१ रनले पराजित गरेको छ। पर्साले दिएको १०० रनको लक्ष्य पछ्याएको आर्मीले १६.२ ओभरमा सबै विकेट गुमाउँदै ६८ रन मात्रै बनाउन सक्यो।

काठमाडौँ– विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गर्दै पर्सा ११ प्रो क्लब च्याम्पियनसिपको फाइनलमा पुगेको छ।

शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा पर्साले आर्मीलाई ३१ रनले पराजित गरेको हो। पर्साले दिएको १०० रनको लक्ष्य पछ्याएको आर्मीले १६.२ ओभरमा सबै विकेट गुमाउँदै ६८ रन मात्रै बनाउन सक्यो।

आर्मीका कुशल मल्ल र बसिर अहमदले बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। कुशलले २१ बलमा २ चौकासहित १९ रन बनाएका थिए। बसिरले भने १५ बलमा १० रन बनाए।

पर्साका कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए। अनिल साह, पवन सर्राफ र सम्साद मन्सुरीले २–२ विकेट लिए। रन्जित कुमारको नाममा १ विकेट रह्यो।

त्यसअघि नारायणी क्रिकेट मैदान वीरगन्जमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पर्साले १९.४ ओभरमा सबै विकेट गुमाउँदै ९९ रन बनायो।

पर्साका सम्साद मन्सुरीले १७ रन बनाउँदा अनिल साह र रुपेश सिंहले १५–१५ रन बनाए। पवन सर्राफ ११ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

आर्मीका सोमपाल कामीले सर्वाधिक ४ विकेट लिए। कुशल मल्लले २ र शहबब आलमले २ विकेट लिँदा विवेक यादवको नाममा १ विकेट रह्यो।

पर्साले शनिबार उपाधिका लागि नेपाल पुलिस क्लब र नोएडाबीचको विजयी टोलीसँग खेल्ने छ।

आर्मीले भने तेस्रो स्थानको लागि खेल्ने छ। यो पनि खेल शनिबार नै हुनेछ।