बालकुमारी आन्दोलन अपडेट: मृत्यु हुनेको संख्या २ पुग्यो

पाटन अस्पतालमा उपचाररत वीरेन्द्र शाहको मृत्यु भएको प्रहरी प्रवक्ता कुवेर कडायतले बताए।

काठमाडाैँ– ललितपुरकाे बालकुमारीमा भएको आन्दोलनका क्रममा घाइते अर्का एक जनाको पनि मृत्यु भएको छ। पाटन अस्पतालमा उपचाररत वीरेन्द्र शाहको मृत्यु भएको प्रहरी प्रवक्ता कुवेर कडायतले बताए।

योसँगै आन्दोलनमा मृत्यु हुनेको संख्या दुई पुगेको छ। यसअघि दैलेखको महाबु गाउँपालिका ६ का २३ वर्षीय सुजन राउतको किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। 

रोजगारीको लागि दक्षिण कोरिया जान रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर परीक्षार्थीले प्रदर्शन गरेका थिए। पानी जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा अनुत्तीर्ण भएकाले आफूहरूलाई  उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा सहभागी गराउन माग गर्दै प्रदर्शन गरेका थिए।

त्यसरी आन्दोलित ईपीएस परीक्षार्थीहरूले भाैतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि स्थिति झन् तनावग्रस्त बनेको थियो। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास र गोली चलाएको थियो। अहिले पनि उक्त क्षेत्र तनावग्रस्त छ। त्यहाँबाट प्रहरीले अहिलेसम्म ५४ जना पक्राउ गरिसकेको जनाएको छ।