‘सीप बिल्डिङ’मा अनुत्तीर्ण भएका सबैलाई ईपीएस परीक्षामा सहभागी गराउन पाटन उच्च अदालतको आदेश

उच्च अदालत पाटनका न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले सबैलाई आवेदन भर्न दिन र परीक्षा प्रक्रियामा सहभागी गराउन आदेश जारी गरेको हो।

काठमाडौँ– रोजगार अनुमति प्रणाली (ईपीएस)का आन्दोलनरत सबै परीक्षार्थीलाई कोरियाली भाषा परीक्षामा सहभागी गराउन उच्च अदालत पाटनले आदेश दिएको छ।

गणेश राई लगायतले दायर गरेको निवेदनमाथि शुक्रबार सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले सबैलाई आवेदन भर्न दिन र परीक्षा प्रक्रियामा सहभागी गराउन आदेश जारी गरेको अदालतका प्रवक्ता तीर्थराज भट्टराईले बताए।

यसअघि पानी जहाज निर्माण (सिप बिल्डिङ)को कामका लागि परीक्षा दिएर अनुत्तीर्ण भएका करिब २८ हजार परीक्षार्थीलाई बाँकी उत्पादनमुलक तथा कृषिको क्षेत्रमा आवेदन दिन नपाउने भनेपछि परीक्षार्थीहरू आन्दोलित थिए।

उनीहरूले आफूले आवेदन दिन पाउनुपर्ने माग राखेर उच्च अदालतमा रिट दायर गरेका थिए। ईपीएस कार्यालयले अदालतको आदेश लिएर गएका १८ जनालाई मात्रै आवेदन भर्न दिएपछि बाँकीले शुक्रबार बिहानैदेखि ललितपुरको बालकुमारीमा आन्दोलन गरेका थिए।

उनीहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले प्रयोग गरेको गाडीमा आगजनी गरेपछि प्रहरीले अश्रु ग्यास तथा लाठी चार्ज गर्दा २ जना प्रदर्शनकारीको मृत्यु भएको छ। यस्तै, ५४ जना प्रहरीको नियन्त्रणमा छन्।