प्रो क्लब च्याम्पियनसिप: उपाधिका लागि पुलिस र पर्सा ११ भिड्ने

शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा वान्डर्स क्लब नोएडालाई ४ रनले पराजित गर्दै पुलिसले पर्सासँगको भेट पक्का गरेको हो।

काठमाडाैँ– प्रो क्लब च्याम्पियनसिपको उपाधिका लागि विभागीय टोली नेपाल पुलिस क्लब र पर्सा ११ भिड्ने भएका छन्। शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा वान्डर्स क्लब नोएडालाई ४ रनले पराजित गर्दै पुलिसले पर्सासँगको भेट पक्का गरेको हो।

पुलिसले दिएको ११३ रनको लक्ष्य पछ्याएको नोएडाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १०८ रन बनायो। नोएडाका बन्स वेदीले सर्वाधिक ४३ रन बनाए। उनले ४० बलमा ३ चौका र २ छक्का प्रहार गरे। कप्तान अलिप्त गुप्ता रनमा अविजित रहँदा सिद्धार्थ गोस्वामी १३ र ओपनर उजैर मलिक १२ रनमा आउट भए।

नोएडाका अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। पुलिसका सागर ढकालले सर्वाधिक ३ विकेट लिए। राशिद खानले २ विकेट लिँदा ललितनारायण राजवंशी र शेर मल्लको नाममा १/१ विकेट रह्यो। 

त्यसअघि नारायणी क्रिकेट मैदान वीरगन्जमा टस हारेर पहिला ब्याटिङ थालेको पुलिसले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११३ रन बनाएको थियो।

पुलिसका अर्जुन साउदले सर्वाधिक ४२ रन बनाए। उनले ३५ बलमा ३ चौका र १ छक्का प्रहार गरे। ओपनर सुनिल धमलाले ३४ रन बनाउँदा अर्का ओपनर दिलिप नाथ १० रनमा आउट भए। पुलिसका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नोएडाका अलिप्त गुप्ताले सर्वाधिक २ विकेट लिए। सन्जिव चतुर्वेदी, दिभान्स रावत र रितिक वत्सले १/१ विकेट लिए। पुलिसले शनिबार उपाधिका लागि पर्सासँग खेल्ने छ। शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा पर्साले विभागीय टोली आर्मीलाई ३१ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

आर्मीले भने तेस्रो स्थानका लागि नोएडासँग खेल्नेछ। यो खेल पनि शनिबार नै हुनेछ।