रोगले अदुवा सखाप, विकल्प खोज्दै किसान

अदुवामा गानो कुहिने, गबारो, पात बेरुवालगायत रोगको संक्रमण देखिएको छ। भारत निर्यात भइरहेको अदुवा सखाप भएपछि किसानले वैकल्पिक रूपमा एभोकाडो, ड्रागनलगायतको खेती गर्न थालेका छन्। 

इलाम– इलाममा रोगका कारण अदुवा उत्पादनमा ह्रास आएको छ। शुरूआतमा अदुवाको गानो कुहिने र पछि बोट मर्न थालेपछि यहाँका अदुवा उत्पादन गर्ने किसान मारमा परेका छन्। रोगले अदुवाका बोट मर्न थालेपछि अधिकांश किसानले अदुवा खेती गर्न छोडेका छन्। 

अदुवा इलामवासीको जीविकोपार्जनको गतिलो माध्यम हो। तर रोगका कारण किसानले अदुवा खेती गर्न छोड्दै गएका माइजोगमाई गाउँपालिका–३ का किसान मिलन खड्काले बताए। “अदुवाबाट हुने आम्दानीले घर खर्च चलाउँदै आएका छौँ। तर पछिल्लो समय रोगका कारण समस्यामा छौँ,” उनले भने, “अधिकांश किसानको रोजीरोटी धरापमा परेको छ।”

अदुवामा गानो कुहिने, गबारो, पात बेरुवालगायत  रोगको संक्रमण देखिएको किसान रघुनाथ अर्यालले बताए। अदुवाका लागि गानो कुहिने रोग सबैभन्दा हानिकारक मानिन्छ। गानो कुहिने रोगले अदुवाको फल नै सखाप पार्ने उनको भनाइ छ। 

“रोप्नुअघि नै बीउ गानोमा ढुसीको संक्रमण भइरहेको छ। उम्रिने बित्तिकै टुसा मर्छ,” उनले भने। मसला र ओषधिजन्य प्रयोगका लागि भारत निर्यात भइरहेको अदुवा किसानले ठाउँ र बीउ फेरेर रोप्दा पनि उम्रने बित्तिक्कै मर्न थालेपछि किसानले वैकल्पिक रूपमा एभोकाडो, ड्रागनलगायतको खेती गर्न थालेका छन्। 

उत्पादन घटेपछि अदुवा व्यापारी वैकल्पिक उपाय खोज्न थालेका स्थानीय जीवन पोखरेलले बताए। उनी अदुवाको कारोबार छोडेर तीन वर्षयता कुचो र अलैँचीको व्यापारमा लागेका छन्। इलामका प्रायःजसो सबै ठाउँमा अदुवा खेती गरिँदै आएको छ। 

रोगका कारण पछिल्लो समय यसप्रति किसानको आकर्षण घटेको छ। स्थानीय, प्रदेश र संघीय सरकारले अदुवा किसानका समस्या पहिचान गरी समाधानको उपाय खोज्न आवश्यक रहेको पोखरेलले बताए। प्रोत्साहनस्वरुप आवश्यक अनुदान उपलब्ध गराउन पनि किसानले माग गरेका छन्। खाद्यान्न बाली मासेर अदुवा खेती गरेका किसान रोगले सखाप पारेपछि चिन्तित भएका छन्। 

इलाममा अदुवाको उत्पादन, उत्पादकत्व र क्षेत्रफल घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ। गत वर्ष ५० हजार ९५५ मेट्रिक टन अदुवा उत्पादन भएकोमा यस वर्ष ५० हजार ६२० मेट्रिक टन मात्र उत्पादन भएको छ।