बालकुमारी घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन माग

भिड नियन्त्रण गर्न पानीको फोहोरा, रबरको गोली, अश्रु ग्याँसको विकल्प हुँदाहुँदै गोली प्रहार गर्नु सरकारको दमनपूर्ण कार्य भएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताएका छन्।

काठमाडौँ– सचेत नागरिक समाजले ललितपुरको बालकुमारीमा दुई युवाको गोली लागेर मृत्यु भएको घटनामा नेपाल प्रहरीको नेतृत्व र गृहमन्त्रीलाई कानूनी दायरामा ल्याउन माग गरेको छ। 

शनिबार काठमाडौँ काठमाडौँ पत्रकार सम्मेलन गर्दै नागरिक समाजका संयोजक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले निर्दोष नागरिकलाई अनाहकमा गोली प्रहार गर्न नपाइने बताए। 

“नेपाल प्रहरी अथवा नेपाली सेनाले पनि उच्च ओहोदाको मान्छेले कुनै गैरकानूनी आदेश जारी गरेको छ भने त्यस्तो आदेश मान्न बाध्य छैनन्,” उनले भने, “बालकुमारी घटनामा जसले गोली चलाएका छन्। जसले कुटेका छन् र जसले आदेश जारी गरेका छन्। गृहमन्त्री, प्रमुख जिल्ला अधिकारी तथा चेन अफ कमान्डमा रहेका जोसुकै हुन् कानूनको दायरामा आउनैपर्छ।”

लोकतन्त्रमा शक्तिको दुरुपयोग गर्न नपाइने उल्लेख गर्दै त्रिपाठीले भिडभाड साम्य पार्न हातहतियार प्रयोग गर्न नपाइने उल्लेख गरेका छन्। “भिड नियन्त्रण गर्न राइफल र पेस्तोल प्रयोग गर्न पाइँदैन। यस्ता घटना बढिरहनुमा नेपाल सरकार र सुरक्षा निकायका नेतृत्व जिम्मेवार हुनुपर्छ।”

भिड नियन्त्रण गर्न पानीको फोहोरा, रबरको गोली, अश्रु ग्याँसको विकल्प हुँदाहुँदै गोली प्रहार गर्नु सरकारको दमनपूर्ण कार्य भएको उनले बताए।