आर्थिक चुनौतीका बीच मोरङमा फुटबल एकेडेमी

जिल्ला फुटबल संघ मोरङले कात्तिक १२ देखि फुटबल एकेडेमी सञ्चालनमा ल्याएको हो। आर्थिक अभावबीच आवाससहितको एकेडेमी सञ्चालनमा ल्याइएको संघका उपाध्यक्ष नारायण लिङ्थेपले बताए।

बेलबारी– फुटबल प्रशिक्षक इन्द्र लिम्बू बिहान सबेरै प्रशिक्षार्थीसँग खेल मैदानमा भेटिन्छन्। ३० जना १३ वर्षमुनिका विद्यार्थीलाई उनी फुटबल खेलाडी बनाउन लागिपरेका छन्। 

फुटबल संघ मोरङले कात्तिक १२ देखि ‘अन्डर १३ एन्फा मोरङ फुटबल एकेडेमी’ सञ्चालनमा ल्याएको हो। आर्थिक अभावबीच मोरङमा आवाससहितको फुटबल एकेडेमी सञ्चालनमा ल्याइएको संघका उपाध्यक्ष नारायण लिङ्थेपले बताए। राज्यका तिनै तहले खेलकुदमा पर्याप्त लगानी गर्न नसकिरहेको अवस्थामा जिल्लाको खेलकुद विकासका लागि संघले पहिलोपटक एकेडेमी सञ्चालनमा ल्याएको उनको भनाइ थियो।

बेलबारी–८ राधानगरमा रहेको सिंहदेवी बोडिङ स्कुलको सहकार्यमा आवासको व्यवस्थासहित सञ्चालित एकेडेमी फुटबल खेलमा भविष्य खोज्नेको लागि आकर्षक गन्तव्य बनेको संघका अध्यक्ष सञ्जीव बुढाथोकीले बताए। उनका अनुसार जिल्लाका विभिन्न पालिकाबाट करिब ४०० जना १३ वर्षमुनिका फुटबल प्रेमी विद्यार्थीबाट छनोट भएर आएका ३० जनालाई मोरङको बेलबारी–८ राधानगरस्थित खेल मैदानमा तालिम प्रदान गरिँदैछ। 

एशियाली फुटबल महासंघको ‘सी’ लाइसेन्स कोचिङ कोर्ससमेत पास गरिसकेका प्रशिक्षक लिम्बूबाट आफ्नो छोरालाई प्रशिक्षित गराउने अवसर पाउँदा खुशी लागेको स्थानीय विजल श्रेष्ठका बुबा बाबुराम श्रेष्ठले बताए। 

“देशकै नमुनाको रूपमा जिल्ला फुटबल संघले सञ्चालन गरेको अन्डर १३ फुटबल एन्फा एकेडेमीलाई स्थायित्व दिलाउन केन्द्रबाट सहयोग जुटाउन लागी परेका छौँ,” अखिल नेपाल फुटबल संघका सहायक महासचिव वसन्त अर्यालले भने। उनका अनुसार फुटबल एकेडेमीका रूपमा अन्य ठाउँमा पनि एकेडेमी सञ्चालन भए पनि आवाससहितको नेपालकै पहिलो मोरङको बेलबारीमा मात्र रहेको छ।