प्रधानमन्त्रीलाई खुमलटार पठाउने हैसियत कांग्रेससँग छ : गगन थापा

कांग्रेस महामन्त्री गगन थापा प्रधानमन्त्री दाहालले सरकारमा रहेर राम्रा काम गर्न नसके बालुवाटारबाट खुमलटार पठाउने हैसियत कांग्रेसको रहेको बताउँछन्।

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम्रो काम गर्न नसके बालुवाटारबाट खुमलटार पुर्‍याउने बताएका छन्।

शनिबार भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री दाहालले सरकारमा रहेर राम्रा काम गर्न नसके बालुवाटारबाट खुमलटार पठाउने हैसियत कांग्रेसको रहेको जिकिर गरेका हुन्। कांग्रेसले चाहेर नै दाहाललाई प्रधानमन्त्री बनाइएको र कांग्रेसले नचाहेको दिन प्रधानमन्त्री रही रहन नसक्ने उनको भनाइ छ।

“प्रचण्डलाई हामीले प्रधानमन्त्री बनाएको हो, हामीले जुन दिन चाहँदैनौँ नि प्रचण्डले राम्रो काम गर्न सक्नुभएन भने खुमलटारबाट बालुवाटार ल्याउने हैसियत कांग्रेसको छ भने बालुवाटारबाट खुमलटार पठाउने हैसियत पनि कांग्रेसको छ,” उनले भने।

उनले कांग्रेस नभए देश गृहयुद्धमा फस्ने दाबी गरे। “अहिले नेपाली कांग्रेस पार्टी छैन भन्ने कल्पना गर्नुभयो भने नेपाल कुनै न कुनै गृहयुद्धमा पर्छ पर्छ। कि धार्मिक, कि जातीय, कुनै न कुनै अतिवादमा पर्छ,” उनले भने।

नेपालको वर्तमान सबैभन्दा ठूलो मुद्दा रोजगारीको रहेको उल्लेख गर्दै उनले बिहीबार बालकुमारीमा भएको घटनाप्रति दुःख व्यक्त गरे।

पार्टी सभापतिको गोजीबाट राष्ट्रियसभा सदस्य छान्ने परिपाटी अन्त्य गर्नुपर्ने उनको भनाइ छ। उनले यसबारेमा आफूले महासमितिको बैठकमा प्रस्ताव गर्ने र सो प्रस्तावमा सहयोग गर्न पार्टीका नेता तथा कार्यकर्ताहरूसँग आग्रह गरे।

उनले राष्ट्रियसभा सदस्य मनोनयन गर्न लामो छलफल गरे पनि पार्टी सभापतिको गोजीबाट नै अन्तिममा नाम टुंगो लाग्ने परिपाटी अन्त्य गर्नुपर्ने बताए। सरकारमा गएका मन्त्रीहरूले काम गर्न नसके फिर्ता बोलाउनुपर्ने उनको भनाइ छ।

कार्यक्रममा कांग्रेस नेता चन्द्र भण्डारीले बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनाप्रति आपत्ति जनाए। उनले यो देश कोरिया जान फारम भर्न पाऊँ भन्दा मर्नुपर्ने देश हो? भन्दै प्रश्न गरे। उनले अहिले समाजमा असामाजिक गतिविधिहरू बढिरहेको औँल्याए। देश चलाउने नेताले समयसँगै अपडेट हुन सिक्नुपर्ने उनको भनाइ छ।