खेलकुदका निकायहरूको भूमिकाबारे समीक्षा आवश्यक छ : मन्त्री लिम्बू

खेलाडीका भावनाअनुरूप काम गर्न सक्यौँ कि सकेनौँ भन्ने विषयमा छलफल गर्न आवश्यक रहेको मन्त्री लिम्बूको धारणा थियो।

काठमाडौँ– युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले नेपाली खेलकुदका सरोकारवाला निकायको भूमिकाबारे समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

काठमाडौँको शंखमूलमा शनिबार आयोजित नेपाल ओलम्पिक कमिटी (एनओसी)को १५औँ साधारणसभाको अवसरमा मन्त्री लिम्बूले खेलाडीको अपेक्षाअनुरूप खेलकुदका निकाय एनओसी र राष्ट्रिय खेलकुद परिषद् (राखेप)को काम कारबाही र भूमिका विषयलाई लिएर समीक्षा गर्न आवश्यक रहेको औँल्याएका हुन्।

खेलाडीका भावनाअनुरूप काम गर्न सक्यौँ कि सकेनौँ भन्ने विषयमा छलफल गर्न आवश्यक रहेको मन्त्री लिम्बूको धारणा थियो।

खेलकुदका जिम्मेवार निकाय एउटै लक्ष्यमा एक भएर काम काम गरे नेपाली खेलकुद विकासको नतिजा पाँच वर्षभित्र देखिने उल्लेख गर्दै उनले सरोकारवाला निकाय मिल्नुको विकल्प नभएको बताए। खेलकुद क्षेत्रको विकासका लागि सबै निकायको साझा धारणा आउनुपर्ने उनको भनाइ छ।

मन्त्री लिम्बूले सरकार एक्लैले मात्र खेलकुद क्षेत्रको विकास गर्न सम्भव नभएको, निजी क्षेत्र, सरोकारवाला र राज्य एक भएर काम गरे खेलकुद क्षेत्रले फड्को मार्ने भनाइ राखे। लगानी गर्ने व्यक्ति र संस्थालाई पनि प्रोत्साहन गर्न उत्तिकै आवश्यकता रहेको मन्त्री लिम्बूले बताए।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपालमा ओलम्पिकको इतिहास लामो भए पनि अनुभव त्यति लामो हुन नसकेको स्वीकार गरे। यसबीच एनओसीले उतारचढाव सामना गर्नुपरेकाले पनि त्यति धेरै गतिविधिहरू नभएको ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठको भनाइ छ।

ओलम्पिकमा सहभागिता मात्र होइन पदकको सम्भावना पनि ल्याउने वातावरण बनाउन आफूहरू प्रतिबद्ध रहेको ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले बताए। राज्य, खेलकुद संघ, मन्त्रालय र ओलम्पिक कमिटी एक भएर काम गर्दा मात्र नेपाली खेलकुदलाई परिणाममुखी बनाउन सक्ने अध्यक्ष श्रेष्ठको विश्वास छ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले नेपाली खेलकुदको संस्थागत विकासको इतिहास लामो रहेको उल्लेख गर्दै उद्देश्यअनुरूप विकास हुन नसक्दा एकपटक सबैले समीक्षा गर्न आवश्यक रहेको औँल्याए। सामूहिक प्रयास गर्न एकै पटक पाइला बढाउनुपर्ने उनको भनाइ छ। काम गर्ने तरिकाबारे प्रशिक्षकसँगै हरेक खेलकर्मीले पनि आफूलाई समीक्षा गर्न उनको आग्रह छ। तब मात्र उपलब्धि सम्भव रहेको राखेप सदस्यसचिव घिसिङले बताए। 

कार्यक्रममा ओलम्पियन दीपक विष्ट र नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले पनि खेलकुद विकासका लागि सबै एक भएर लाग्नुपर्ने औँल्याए।