गुरुङ समुदायले तमु ल्होसार मनाउँदै, देशभर सार्वजनिक बिदा

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई गुरुङ समुदायले तमु ल्होसारका रूपमा मनाउने गरेका छन्।

काठमाडौँ– गुरुङ समुदायले आइतबार तमु ल्होसार मनाउँदै छन्। पुरानो वर्षलाई बिदा गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन छ। 

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई गुरुङ समुदायले तमु ल्होसारका रूपमा मनाउने गरेका छन्।

यस दिन हर्षोल्लासका साथ आफ्नो भेसभुसा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्ने प्रचलन छ। ल्होसार सूर्यको किरणसँग सम्बन्धित छ। 

गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो तमु ल्होसार मनाउने गरिएको किंवदन्ती छ।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा सोनाम  र ग्याल्वो ल्होसार मनाइने गरिएको विश्वास गरिन्छ।

तमु ल्होसारका अवसरमा सरकारले आइतबार देशभर सार्वजनिक बिदा दिएको छ।