रुसमा युक्रेनको हमला: २० जनाको मृत्यु, १०० भन्दा बढी घाइते

युक्रेनले ड्रोन आक्रमण गरेपछि बेल्गोरोडमा ठूलो आवाजका साथ विस्फोट भएको थियो। साथै गाडीका हर्न अस्वाभाविक ढंगले बजेको पनि सुनिएको थियो।

तस्वीर: रोयटर्स

रुसको सीमावर्ती शहर बेल्गोरोडमा युक्रेनले गरेको सांघातिक हमलामा २० जनाको मृत्यु भएको छ। १०० भन्दा बढी घाइते भएका छन्। 

त्यहाँका क्षेत्रीय गभर्नरका अनुसार रुसले युक्रेनमा आक्रमण गरेपछिको यो सबैभन्दा घातक आक्रमण हो। आक्रमणमा परी मारिनेमा तीन बालबालिकासमेत छन्। यता युक्रेनी सुरक्षा स्रोतले भने शनिबारको कारबाहीमा सैन्य पूर्वाधारलाई मात्र निशाना बनाइएको दाबी गरेको बीबीसीले जनाएको छ। 

युक्रेनले ड्रोन आक्रमण गरेपछि बेल्गोरोडमा ठूलो आवाजका साथ विस्फोट भएको थियो। साथै गाडीका हर्न अस्वाभाविक ढंगले बजेको पनि सुनिएको थियो।

बेल्गोरोड क्षेत्रका गभर्नरले युक्रेनी सेनाको आक्रमण पछिल्लो दुई वर्षयताकै सबैभन्दा गम्भीर खालको भएको बताएका छन् ।

युक्रेनी सुरक्षा स्रोतका आधारमा बीबीसीले भनेको छ, “रसियाले युक्रेनी शहर र नागरिकमा गरेको आतंकवादी हमलाको प्रतिक्रियाको रूपमा युक्रेनले शनिबार जवाफी आक्रमण गरेको हो।”

यसअघि शुक्रबार युक्रेनमा रुसले गरेको आक्रमणमा ३९ जनाको मृत्यु भएको थियो। जसलाई कीभले रुसको युद्धमा अहिलेसम्मकै सबैभन्दा ठूलो मिसाइल बमबारीका रूपमा व्याख्या गरेको छ।

यता, युक्रेनले गरेको आक्रमणबारे मस्कोले भने ‘युक्रेनी ओल्खा र चेक निर्मित रकेट र धेरै प्रकारका हतियारसहित आक्रमण गरेको’ भनेको छ।