उत्तर कोरियाले ३ वटा नयाँ जासुसी उपग्रह प्रक्षेपण गर्ने

कोरियाको सत्तारुढ वर्कर्स पार्टीको वर्षअन्तको बैठकमा त्यहाँका सर्वोच्च नेता किम जोङ उनले सन् २०२४ को लक्ष्य तय गरेका छन्।

तस्वीर: केसीएनए

उत्तर कोरियाको सरकारी मिडियाका अनुसार देशले आफ्नो सेनालाई बलियो बनाउने उद्देश्यले अर्को वर्ष थप तीनवटा जासुसी उपग्रह प्रक्षेपण गर्ने घोषणा गरेको छ। यसलाई सन् २०२४ को लागि प्रमुख योजनाको रूपमा लिएको त्यहाँको न्युज एजेन्सी केसीएनएलाई उद्धृत गर्दै अलजजिराले लेखेको छ।

उत्तर कोरियाले गत महिना एउटा जासुसी उपग्रह अन्तरिक्षमा पठाएको थियो। उक्त उपग्रहले अमेरिका र दक्षिण कोरियाली सैन्य साइटहरूका तस्वीरहरू पठाएको दाबी गरिएको थियो।

कोरियाको सत्तारुढ वर्कर्स पार्टीको वर्षअन्तको बैठकमा त्यहाँका सर्वोच्च नेता किम जोङ उनले सन् २०२४ को लक्ष्य तय गरेका छन्। यस भेटमा उनले आणविक महत्वाकांक्षालाई अघि बढाउन आफूसँग अर्को विकल्प नभएको बताए।

किम जोङ उनले पनि सन् २०२४ मा दक्षिण कोरियासँगको आफ्नो देशको सम्बन्धमा ‘आधारभूत परिवर्तन’ देख्ने बताएका छन्।

उनले आफ्नो देशको दक्षिण कोरियासँग विलय अब सम्भव नभएको बताए। उनका अनुसार दक्षिण कोरियाले आफ्नो देशलाई शत्रुजस्तै व्यवहार गर्छ।

किम जोङ उनले यस्तो कुरा गरेको सायद यो पहिलो पटक हो। विज्ञहरूले यसलाई उत्तर कोरियाको नीतिमा आधिकारिक परिवर्तनका रूपमा लिएका छन्।

उनले आणविक कार्यक्रमसहित आफ्नो सेनालाई सम्भावित युद्धको तयारी गर्नको लागि पनि भनेका छन्। उनले संयुक्त राज्य अमेरिकाले चाल चलिरहेको आरोप लगाउँदै आएका छन्। त्यसको लागि आफ्ना सेनालाई तयारी अवस्थामा रहन उनले भनेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।