बालकुमारी घटना : सरकारले उच्चस्तरीय जाँचबुझ आयोग बनाउने, प्रस्ताव ल्याउन गृहलाई निर्देशन

सरकारले ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनाको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने भएको छ। आयोग गठनको प्रस्ताव ल्याउन प्रधानमन्त्रीले गृह मन्त्रालयलाई निर्देशन दिएका छन्।

फाइल तस्वीर

काठमाडौँ– सरकारले ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनाको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने भएको छ। बालकुमारीस्थित ईपीएस शाखा कार्यालयमा कोरियाली भाषा परीक्षाको फारम भर्ने क्रममा उत्पन्न विवादपछि भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो घटनाबारे जाँचबुझ गर्न जाँचबुझ आयोग ऐन २०२६ को दफा ३ को उपदफा (२) बमोजिम पूर्वन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्नेसम्बन्धी प्रस्ताव ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएका हुन्। सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले आयोग गठनको औपचारिक निर्णय गर्ने र सो आयोगले सोमबारदेखि नै कार्य प्रारम्भ गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सत्तारुढ दल नेपाली कांग्रेसले बालकुमारी घटना छानबिनका लागि उच्चस्तरीय न्यायिक समिति गठन गर्न सरकारसँग माग गरेको थियो। कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले ललितपुर घटनालाई गम्भीरतापूर्वक लिई त्यसको सत्यतथ्य पत्ता लगाउन सरकारसँग तत्काल छानबिन समिति गठन गर्न माग गरिएको बताएका थिए। 

गृह मन्त्रालयले पनि सो घटनाको सत्यतथ्य बाहिर ल्याउने भन्दै तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) लालमणि आचार्यको नेतृत्वमा बनाइएको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक वासु सिग्देल सदस्य छन्। गत शुक्रबार बनेको समितिलाई सात दिनभित्र सत्यतथ्य छानबिन गरी प्रतिवेदन बुझाउने गरी जिम्मेवारी दिइएको थियो। वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका युवाहरूको मृत्यु भएपछि त्यसको विरोध भइरहेको छ।