बारेकोट गाउँपालिका–५ की रमिता सिंहले चिसोले टाउको दुख्ने, पखाला लाग्ने, रुघाखोकी लाग्नेलगायतका समस्या देखिएको उनले बताइन्। त्रिपालको शीतले अनुहार नै सुन्निने गरेको उनको भनाइ।
जाजरकोट– गाँस र बासको उचित व्यवस्था नहुँदा यहाँका भूकम्पपीडित समस्यामा परेका छन्। चिसोले सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी समस्यामा परेका छन्।
अस्थायी आवास निर्माणका लागि पालिकाबाट रकम निकासा गर्न ढिलाइ हुँदा भूकम्पपीडित त्रिपालमा बस्न बाध्य छन्। त्रिपालमा बस्दै आएकी कुशे गाउँपालिका–९ चौराठाकी २४ वर्षीया सुत्केरी कल्पना नेपालीले अत्यधिक चिसोका कारण बुधबार ज्यान गुमाउनुपर्यो।
मंसिर १७ गते सुत्केरी भएकी कल्पना बिरामी थिइन्। “भूकम्पले घरमा क्षति पुगेपछि गर्भवती श्रीमतीसहित त्रिपालमा बस्दै आएका थियौँ,” कल्पनाका श्रीमान् गोपे सुनारले भने, “सुत्केरी भएदेखि नै बिरामी थिइन्, चिसोले मुख र जीउ सुन्निएको थियो, ठीक भइहाल्ला भनेर गाउँघरकै ओख्तो (औषधि) गर्न तिर लाग्यौँ, मृत्यु नै होला भन्ने सोचेको थिएन।”
स्वास्थ्य संस्थामा पनि राम्रोसँग उपचार नहुने गरेको उनले गुनासो गरे। “सुविधासम्पन्न अस्पतालसम्म लैजाने पैसा थिएन, त्यही भएर घरमै झारफुक र घरेलु उपचारमा लाग्यौँ,” सुनारले भने।
चिसोले जाजरकोटमा तीन बालबालिकासहित ३० जनाको ज्यान गइसकेको छ भने रूकुमपश्चिममा पाँच जना भूकम्पपीडितको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा धेरैजसो निमोनिया र दमका रोगी थिए।
चिसोले श्वासप्रश्वास, निमोनिया, पखाला र दमका बिरामी बढेका छन्। नलगाड, बारेकोट, भेरी, जुनीचाँदे, छेडागाड, शिवालय र कुशे गाउँपालिकामा बिरामीको संख्या बढेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ।
भूकम्पपछि त्रिपालको बसाइँले चिसोका बिरामी बढ्दै गएको नलगाड कैना स्वास्थ्य चौकीका इन्चार्ज हेमा पुनले बताइन्। चिसोबाट बिरामी भएर दैनिक एक सयभन्दा बढी बिरामी उपचारका लागि स्वास्थ्य संस्थामा आउने गरेको उनले बताए।
चिसोले निकै सताएको बारेकोट गाउँपालिका–५ की रमिता सिंहले बताइन्। चिसोले टाउको दुख्ने, पखाला लाग्ने, रुघाखोकी लाग्नेलगायतका समस्या देखिएको उनले बताइन्। त्रिपालको शीतले अनुहार नै सुन्निने गरेको उनको भनाइ छ।
नलगाडका चिउरी, पाली, कट्के, करुवा, गर्छिना, लहाँ, डाँडागाउँलगायत गाउँमा चिसोले बिरामी बढेको नलगाडका जनस्वास्थ्य निरीक्षक तप्त चनाराले बताए।
नगर अस्पताल दल्लीमा कार्यरत डा. विशाल उप्रेती बिदामा बसेका र बिरामीको चाप बढ्दै गएपछि जिल्ला अस्पतालबाट डा. अविनव टिंकरीलाई पठाइएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. प्रतीक्षा भारतीले बताइन्।
अरू ठाउँभन्दा नलगाडमा बिरामीको चाप निकै बढेको छ। जिल्लाका सबै स्वास्थ्य संस्थामा करिब चार सयको हाराहारीमा चिसोका बिरामी उपचारका लागि आउने गरेको डा. भारतीको भनाइ छ। जुनीचाँदे गाउँपालिकामा औषधि अभाव भएको छ ।
भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिकाका बासिन्दाले बिरामी भएर स्वास्थ्य संस्था जाँदा पनि औषधि पाउन सकेका छैनन्।
चिसोले गर्दा रुघाखोकी, निमोनिया, पखाला, टाउको दुख्ने, ज्वरो आउनेलगायत समस्या लिएर बिरामी स्वास्थ्य संस्थामा पुग्ने गरेका छन्। औषधि नहुँदा बिरामी रित्तै फर्कन बाध्य छन्। औषधि अभावमा उपचार सेवा प्रभावित भएको स्वास्थ्यकर्मी स्वयंले बताएका छन्।
प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा कार्यरत अनमी सरस्वती शाहीले चिसोले गर्दा बिरामीको सङ्ख्या बढ्दै गएको भए पनि औषधि नभएको बताइन्। उनका अनुसार चिसोका कारण निमोनिया, झाडापखाला, दम, रुघाखोकीलगायत श्वासप्रश्वाससम्बन्धी समस्या बढ्दै गएको छ।
औषधि नहुँदा उपचार गर्न नसकिएको उनको भनाइ छ। स्वास्थ्य संस्थामा सिटामोलसमेत नभएको र बिरामीले निःशुल्क पाउने औषधिसमेत दिन नसकेको शाहीले बताए।
जुनीचाँदे–६ दहकरुवा आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अनमी कमलाकुमारी शाहीले पनि औषधि अभाव हुँदा उपचार सेवा प्रभावित भएको बताइन्। उनले गाउँपालिकामा औषधिको माग गरे पनि आउन नसकेको जनाइन्।
चिसोले सुत्केरी महिला, बालबालिका र वृद्धवृद्धा धेरै प्रभावित भएका छन्। जुनीचाँदेका ११ वटै वडामा रहेका स्वास्थ्य संस्थामा औषधिको अभाव रहेको छ। जुनीचाँदे गाउँपालिका सदरमुकाम खलंगाबाट सबैभन्दा दुर्गम स्थानमा रहेको पालिका हो। यहाँ अत्यधिक चिसो हुने गर्छ।
जुम्ला, कालीकोट र दैलेखसँग सिमाना जोडिएको यो गाउँपालिकाका विभिन्न वडामा पुग्न यातायातको असुविधा छ। जुनीचाँदेका स्वास्थ्य शाखा प्रमुख प्रेमबहादुर शाहीले यस वर्ष गाउँपालिकाले अहिलेसम्म औषधि खरिद नगरेको र जिल्लाले औषधि नपठाएकाले समस्या भएको बताए।
स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. प्रतीक्षा भारतीले माग गरेका पालिकामा औषधि पठाइएको तर जुनीचाँदेले औषधि नै माग नगरेको बताइन्। औषधिको मौज्दात सकिएको भए माग गरेर लैजान सल्लाह दिएको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
