‘सिप बिल्डिङ’ परीक्षामा सहभागी सबैको लागि उत्पादन क्षेत्रको भाषा परीक्षामा आवेदन माग

पुस १६ देखि १८ गतेसम्म आवेदन दिन मिल्ने ईपीएस शाखाले जनाएको छ।

काठमाडाैँ– दक्षिण कोरियामा पानी जहाज निर्माण (सिप बिल्डिङ) क्षेत्रमा भाषा परीक्षा दिइ बसेका सबैका लागि उत्पादन क्षेत्रको भाषा परीक्षामा आवेदन खुलेको छ। 

वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस शाखाले पुस १६ गतेदेखि १८ गतेसम्म आवेदन दिन मिल्ने जनाएको छ। उच्च अदालत पाटनले पानी जहाज निर्माणको परीक्षा दिएकाहरूलाई उत्पादनमूलक क्षेत्रमा आवेदन फाराम भर्न रोक नलगाउन आदेश दिएको थियो। त्यसपछि ईपीएस शाखाले कोरियाको मानव संशाधन विभागसँग छलफल गरेको र त्यसबाट सकारात्मक प्रतिक्रिया आएको भन्दै आवेदन खुलाएको जनाएको छ।

ईपीएस शाखाका अनुसार गएको साउनमा पानी जहाज निर्माण क्षेत्रमा भाषा परीक्षा दिएका आवेदकहरूले मात्रै फारम भर्न पाउने छन्। साविक बमोजिम नै अनलाइनबाट फारम भर्न सकिने शाखाले जनाएको छ।

कोरियाको रोजगारीमा जानेहरूले एकै वर्ष दुई क्षेत्रमा आवेदन दिन नपाइने व्यवस्था छ। तर, पानीजहाज निर्माण क्षेत्रका परीक्षार्थीले उत्पादनमूलक क्षेत्रमा पनि आवेदन दिन पाउँ भन्दै उच्च अदालत पाटनमा रिट दिएका थिए। त्यसपछि उच्च अदालतले रिट निवेदन दिने १८ जनाको हकमा मात्र फाराम भर्न आदेश दिएको र ईपीएस शाखाले त्यसैअनुसार १८ जनाको लागि मात्रै आवेदन खुलाएपछि अरु परीक्षार्थीले विरोध गरेका थिए। शुक्रबार बालकुमारीमा भएको आन्दोलनका क्रममा दुई युवाको ज्यान गएको थियो।