मन्त्री नगएको भए बालकुमारी घटना हुने थिएनः प्रहरी महानिरीक्षक

सोमबार बिहान सिंहदरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

काठमाडाैँ– गत शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनाको बारेमा बोल्दै प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले मन्त्री नगएको भए घटना नहुने बताएका छन्।

सोमबार बिहान सिंहदरबारमा बसिरहेको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। ईपीएस अन्तर्गत 'सिप बिल्डिङ'का परीक्षार्थीले उत्पादन क्षेत्रमा पनि फारम भर्न पाउनुपर्ने भन्दै आन्दोलन गरेका थिए। प्रदर्शनका क्रममा दुई जनाको ज्यान गएको थियो।

महानिरीक्षक कुँवरका अनुसार त्यो दिन  भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला त्यहाँ नआएका भए घटना हुने थिएन। 

"मन्त्रीको गाडी आएपछि अवस्था बिग्रेको हो। त्यो गाडी त्यहाँ नआएको भए यो घटना हुने थिएन। उपत्यकामा मन्त्रीकै सुरक्षामा कमजोरी नहोस भनेर प्रहरी अगाडि बढ्ने क्रममा घटना भएको छ। प्रहरी पुग्दासम्म त गाडी जलिसकेको अवस्था थियो," आईजीपी कुँवरले भने।

आईजीपी कुँवरका अनुसार त्यो दिन बिहान ११:३० बजेको समयमा प्रदर्शनकारीद्वारा तोडफोडको अवस्था भएपछि सामान्य बल प्रयोग गर्दा प्रदर्शनकारी तितरवितर भएका थिए। ११:५२ बजे मन्त्री कान्तिपुर पार्टी प्यालेसबाट निस्केर बालकुमारीको ओभर ब्रिज नजिकै कोटेश्वर जाने क्रममा कोटेश्वर र सातदोबाटो दुबैतर्फबाट सवारी आउन रोक लगाइएको थियो। पीएसओले समस्याका बारेमा 'रुट क्लियर' छ की छैन भन्ने समन्वय नभएको पनि आईजीपी कुँवरको भनाइ छ। 

"भीडमा आएर गाडी रोकियो। मन्त्री ज्यु झर्नुभयो। त्यतिबेला सामान्य विवाद भएको देखिन्छ," उनले भने, "मन्त्री ज्युको गाडी जलाउन थाले भन्ने कुरा आइसकेपछि उमेश लम्सालले मास क्लियर गर्दै जाने क्रममा ११:५४ मा मन्त्रीलाई हातपात हुने जस्तो देखियो। त्यो समयमा मन्त्रीको गाडीको टायर खोलेको १२:२० मा मन्त्री ज्युको गोली कतिबेला चल्यो यकिन भएको छैन।"

यो घटना हुन सक्छ भनेर सुरक्षा संयन्त्र 'अलर्ट' भएको र २१५ जना प्रहरी तथा ७५ सशस्त्र प्रहरीलाई परिचालन गरिएको उनले बताए। उनका अनुसार प्रदर्शनका क्रममा ८ जना प्रहरी पनि घाइते भएका छन्।