रवि लामिछानेले गृहमन्त्रीलाई भने– तपाईंप्रति संगठनको विश्वास नै छैन

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा उनले इमानको राजनीति गर्ने नारायणकाजी श्रेष्ठ नरहेको भन्दै टिप्पणी पनि गरे।

फाइल तस्वीर

काठमाडाैँ–  स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले सुरक्षा संगठनभित्र नै गृहमन्त्री नारायणकाजी श्रेष्ठप्रति विश्वास नरहेको बताएका छन्।

गत शुक्रबार दुई जनाको ज्यान जाने गरी भएको बालकुमारी घटनाबारे उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जानकारी लिन बोलाएको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा उनले गृहमन्त्री श्रेष्ठको नेतृत्वमा संगठन असन्तुष्ट रहेको पनि बताए। उनले इमानको राजनीति गर्ने नारायणकाजी श्रेष्ठ नरहेको भन्दै टिप्पणी पनि गरे।

"तपाईंको स्प्रिटभित्र प्रहरी भएन। तपाईंको नेतृत्वमा नक्कली भुटानी शरणार्थी, एआईजी ज्ञवाली, दानबहादुर कार्की, मनोज केसीलाई समय नपुगेर सरुवा गर्नुभयो। इमानको राजनीति गर्ने नारायणकाजी श्रेष्ठ रहेन। पदको लोभमा रहेको देखियो," लामिछानेले भने, "तपाईंले संगठनलाई प्रभावित पार्नुभयो। सुन प्रकरणमा पनि प्रहरीलाई प्रभावित पार्नुभयो। राम्रोसँग काम गर्न दिनुभएन। ब्रेक सुमा सुन आएको विषयमा राजश्व अनुसन्धान विभागले गरेको थियो प्रहरीमा ल्याउने प्रयास गर्नुभयो।"

बालुकमारी घटनामा प्रदर्शनकारीलाई छातीमै ताकेर गोली प्रहार गरेको भन्दै उनले आक्राेश व्यक्त गरे। साथै प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले अनुमति नदिएरै गोली प्रहार गर्नेलाई निलम्बन गर्ने कि हिरासतमा राख्ने भन्दै प्रश्न पनि गरे।

"खुट्टामा गोली चलाउनुपर्ने होइन र अवस्था थियो भने। सीडीओले आदेश नदिएर गोली चलाउनेलाई निलम्बन गर्नु हुन्छ की हिरासतमा राख्नुहुन्छ," उनले भने।